गृहमन्त्रीको राजीनामा नआउँने,छानबिन समिति पनि नबन्ने: काँग्रेस

काठमाडौं। नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक राजीनामा नआउने र उनीमाथि छानबिन समिति पनि नबन्ने बताएको छ।
सत्ता साझेदार नेपाली कांग्रेस र एमालेको बालुवाटार बैठक सकेर निस्किएका कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्री लेखकको राजीनामा नआउने बताए। उनले लेखकमाथि छानबिन समिति गठन हुन नसक्ने बताए।
के छानबिन गर्ने ? गृहमन्त्रीमाथि प्रश्न नै उठेको छैन। किन छानबिन समिति बनाउने ? घिमिरेले भने,कर्मचारीमाथि प्रश्न उठ्दा गृहमन्त्रीको किन छानबिन हुने? राजीनामा गर्नुपर्ने कारण के छ ? यो कुरा साँच्चै भन्ने हो भने मन्त्रीले जवाफ दिने पनि होइन।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै प्रतिपक्ष दलले उनको राजीनामा मागेका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठक विपक्षीको विरोधले अवरुद्ध भएको थियो।
बुधबारको बैठकमा पनि अवरोध जारी राख्ने विपक्षी दलहरूले बताएका छन्। बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन।
