आज यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं। देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यिनैको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ।
कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशको केही तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

