कांग्रेसमा गृहमन्त्री प्रकरणले शेखर र शशांकबीच भिडन्त,कोइराला परिवारको विभाजन तीव्र

काठमाडौं।नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशनको तयारीका बीच कोइराला परिवारमा स्पष्ट विभाजनको रेखा कोरिएको छ। गृहमन्त्री रमेश लेखकको राजीनामा प्रकरणले पार्टीभित्रको आन्तरिक समीकरणमा नयाँ मोड ल्याएको छ।

नेता शेखर कोइरालाले गृहमन्त्री लेखकको राजीनामा माग गरेपछि पूर्व महामन्त्री शशांक कोइरालाले उनीसहित सांसदहरू सुनिल शर्मा र राजेन्द्र बजगाईलाई पार्टीले स्पष्टीकरण सोध्नुपर्ने विषय पार्टी बैठकमै उठाएका थिए।

कोइराला परिवारको विरासत बाँडेका शेखर र शशांकको सम्बन्ध १४औं महाधिवेशनदेखि नै तनावपूर्ण रहेको छ। तर यसरी एकअर्काप्रति सार्वजनिक रूपमा प्रश्न उठाउने काम भने यसअघि भएको थिएन।

गृहमन्त्रीको राजीनामा प्रकरणपछि शुरु भएको यो विवादले कांग्रेसमा आरोप-प्रत्यारोपको सुरुवात गरेको छ। शेखरले गृहमन्त्रीको राजीनामा माग गरेपछि कांग्रेसका सांसद राजेन्द्र बजगाईले पूर्व महामन्त्री शशांक कोइरालाले तीन वटा गाडी, सुनको रोलेक्स घडी र दुई झोला पैसा घुसबापत लिएको आरोप लगाएका छन्। राजनीतिक नियुक्तिका लागि घुस लिएको भन्दै बजगाईले शशांकमाथि स्पष्टीकरण सोध्नुपर्ने माग गरेका छन्।

यही प्रकरणले ११ महिनादेखि संवादहीनतामा रहेका शेखर कोइराला र महामन्त्री गगन थापालाई एक बनाइदिएको छ। १४औं महाधिवेशनमा गगनले शेखरकै गुटबाट महामन्त्री जितेका थिए। तर पछिल्लो समय दुवै नेता आगामी सभापतिको आकांक्षी देखिएपछि सम्बन्ध चिसिएको थियो।

शेखरले महाधिवेशनकेन्द्रित अभियान नै सुरु गर्दा गगन भने देउवाको उत्तराधिकारी बन्ने दौडमा हिँडेका थिए। तर सरकार र सभापति देउवाबाट असहयोग पाएपछि गगन थापा शेखरसँग नजिकिएको विश्लेषण गरिन्छ।

शेखर र शशांकको बढ्दो दूरी कार्यकर्ता स्तरमा पनि देखिएको छ। शेखर पक्षका धेरै नेता कार्यकर्ताले हिम्मत भए स्पष्टीकरण सोधेर देखाउन चुनौती मात्र दिएका छैनन् शशांकविरुद्ध पनि निशाना साधिरहेका छन्। शशांक पक्षधरले पनि पार्टीमा स्थिति बसाल्नु बेठिक हो भन्दै शेखर पक्षमाथि आक्रमण गरिरहेका छन्।

आगामी महाधिवेशनमा सभापति देउवाले आफ्नो स्थान छोडे पनि आफूअनुकूल चलिदिने सभापति चाहेका छन्। त्यसका लागि उपयुक्त पात्र शशांक नै हुने निलकण्ठको बुझाइ रहेको बताइन्छ। पछिल्ला घटनाक्रमलाई पनि त्यसैको सुरुवाती छाँटकाबारीका रूपमा अनुमान लगाउन थालिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यो विवाद आगामी महाधिवेशनसम्म जान सक्ने वा सहमतिको बाटोमा जान सक्ने स्थिति स्पष्ट देखिएको छैन। विचारधारालाई केन्द्रबिन्दु बनाउनुको सट्टा व्यक्तिकेन्द्रित राजनीतिले समस्याको समाधान नदिने उनीहरूको भनाइ छ।यदि विचारधारालाई केन्द्रबिन्दु बनाइएन र व्यक्ति नै केन्द्रबिन्दु भयो भने त्यो शक्ति राजनीति हुन्छ, एक विश्लेषकले भने।

दाजुभाइबीच लामो समयदेखि भेटघाट नभएको र संस्थापन इतरको समूहको नेतृत्व गरिरहेका कारण शेखर कांग्रेसमा शशांकभन्दा बढी प्रभाव देख्छन्। तर शशांकले आफू कोइराला परिवारको उत्तराधिकारी तथा लोकप्रिय नेता भएकाले आफ्नो प्रभुत्व धेरै रहेको ठान्छन्। पछिल्लो विवादबारे शशांकले सार्वजनिक रूपमा बोले पनि शेखरले भने अझै प्रतिक्रिया जनाइसकेका छैनन्।   

त्यस्तै कांग्रेसको आगामी समीकरणबारे चासो बढेकै बेला कोइराला परिवारमा स्पष्ट विभाजन देखिएको छ। टुुंगो लागि नसके पनि १५ औँ महाधिवेशनको तयारी नेताहरुले कुनै न कुनै रुपमा गरिरहेका छन् ।

तर, आफ्नो पक्षमा वर्चश्व देखाउन कस्ता मुद्दालाई कसरी राजनीतिक रङ दिन्छन् भन्ने कुरा गृहमन्त्री रमेश लेखकको राजीनामा प्रकरणले छर्लङ पारेको छ ।

यही घटनाले कोइराला परिवारमा स्पष्ट विभाजनको रेखा कोरिएको छ। पार्टी सरकारमा रहँदा पनि प्रतिपक्षी शैली देखाउने शेखर कोइरालाले मन्त्री लेखकको राजीनामा मागेका थिए।