भिजिट भिसा प्रकरण: पाँच वर्षमा १० लाख बढी नेपाली विदेशिए,कसको पालामा कति ?
रनसुर महतारा (रमेश)
काठमाडौं। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम मुछिएपछि नैतिकताको प्रश्न सेलाएको छैन। यस बीचमा उनी पनि त्यसका लागि राजी भइसकेका छैनन्। बरु यस अघिका गृहमन्त्रीको बेली वृत्तान्त र भित्री जालो खोतल्ने क्रम सुरु भएको छ। यसको भित्री जालोको कथा दिन प्रतिदिन पर्दाफास हुन थालेको छ जहाँ लेखक त अहिले चर्चामा आएका पात्र मात्र हुन्।
यस अघिका गृहमन्त्रीको समयमा समेत भिजिट भिसामा जानेको संख्या अत्यधिक र अस्वभाविक देखिएको छ। यदि निष्पक्ष छानबिन भए लहरो लामै तानिन सक्ने पक्का छ।
पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा कांग्रेसका बालकृष्ण खाण गृहमन्त्री भएका बेला यसरी विदेश जानेको संख्या हत्तै बढेको देखिन्छ। यिनै खाण गृहमन्त्री भएका बेला नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने मानव तस्करीको भयंकर मास्टर प्लान बनेको थियो।
अध्यागमन विभागको तथ्यांक अनुसार तीन वर्ष चार महिना गृहमन्त्री बनेका राम बहादुर थापाको समयमा २१ हजार ६६६ जना मात्र भिजिट भिसामा विदेश गएका थिए।
जबकि यो संख्या खाण गृहमन्त्री भएपछि अत्यधिक बढ्यो। उनी मन्त्रालयमा रहेको साढे एक वर्षमै २ लाख ४३ हजार बढी नेपाली भिजिट भिसामा विदेशिएका छन्। त्यसपछि गृहमन्त्री बनेका माओवादीका नारायण काजी श्रेष्ठको ११ महिनाको अवधिमा २ लाख १२ हजार नेपाली भिजिट भिसामा विदेश गएका छन्।
त्यसपछि दुई पटक गरी पाँच महिना मात्र गृह मन्त्रालयको नेतृत्व सम्हालेका रवि लामिछानेको समयमा १ लाख १६ हजार भन्दा धेरै नेपाली भिजिट भिसामा बाहिरिएका छन्। रमेश लेखकको यो १० महिनाको अवधिमा २ लाख ३६ हजार जनाले भिजिट भिसामा देश छाडेका छन्।
के उनीहरू घुम्नकै लागि विदेश गएका हुन्,मापदण्ड र सबै पुगेको थियो, यदि थिएन भने कसरी गए यावत् प्रश्नहरू उठेका छन्। कर्मचारीलाई ढाल बनाएर सेटिंगको जालो लामै समयदेखि चलेको छ। निष्पक्ष अनुसन्धान भए गृहमन्त्री र प्रधानमन्त्री तहकै संलग्नता इन्कार गर्न सकिने अवस्था पनि छैन।
जुन हिसाबले अहिले मन्त्रालय लेभलकै मन्त्रीस्तरको देखि आएको भन्ने कुराहरू आइरहेका छन्, त्यो कुरामा त अनुसन्धान गर्नेहरूलाई नै थाहा हुन्छ। तर त्यो विषयमा ठूला-ठूलालाई कारबाही हुन थाल्यो भने माथि नै नेतृत्व तह नीति बनाउने तह र अनुगमन गर्ने, नियमन गर्ने तहमा नै कारबाही हुन जरुरी छ भन्ने कुरा उठाउँदै आइरहेका छन्।
अहिले भिजिट भिसामा मानव तस्करी भएको भन्दै अध्यागमनका कर्मचारीमाथि अनुसन्धान हुँदा प्रतिपक्षले गृहमन्त्रीको राजीनामा मागिरहेका छन्। यो बीचमा अहिले प्रतिपक्षमा रहेका माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृह मन्त्रालय सम्हालेका थिए।
यस अघि लेखकले समेत पत्रकार सम्मेलनमा विगतको तथ्यांक हेर्दै त्यसको जिम्मेवारी लिन तयार हुनुहुन्छ भन्दै प्रश्न उठाएका थिए। लाखौं मानिस भिजिट भिसामा विदेश पठाइरहँदा उनीहरू घुम्नकै लागि गएका थिए त भन्दै अहिले कांग्रेसले प्रश्न उठाउन थालेको छ।
यसबारे अनुसन्धान गरेका पूर्व डीएसपी गोविन्द पन्थीले श्रेष्ठ गृहमन्त्री भएका बेला आफूले गरिरहेको अनुसन्धान रोक्न उनको सचिवालयबाट दबाब आएको बताएका थिए।
रविको समयमा औसतमा दैनिक ८०० बढी नेपाली भिजिट भिसा मार्फत बाहिरिएको देखिन्छ जबकि लेखक गृहमन्त्री बनेयता औसत ६८० जना दैनिक बाहिरिएका छन्। अर्थात् लेखकको भन्दा धेरै भिजिट भिसाको धन्दा रवि गृहमन्त्री भएका बेलामा देखिन्छ। यसै तथ्यलाई आधार बनाउँदै कांग्रेस अब राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ निशाना साधने मनसायमा देखिएकाे छ।
रवि गृहमन्त्री भएका बेला उपसभापति डीपी अर्याल श्रम मन्त्री बनेका थिए। उनी पेशाले म्यानपावर व्यवसायी पनि हुन्। भोलि छानबिनकै अवस्थामा पुगे उनी तिर पनि प्रश्न सोधिन सक्ने सत्ताधारीको आशंका छ। यसको छनक जेठ १५ गते पनि देखिएको थियो। हिजो,अस्तिकाे थिए भन्दै आज उठेका विषयलाई विषयान्तर गर्न मिल्दैन।
आजको विषय हो नि त ? आजको तथ्य के स्थापित छ भने त्रिभुवन विमानस्थलमा अध्यागमनमा अनियमितता भएको छ, त्यहाँ सेटिंगमा चाहिँ काम भएको छ, भिजिट भिसा प्रकरणमा हजारौं मान्छे सेटिंगमा उडाइएको छ, जो सेटिंगमा पर्दैन त्यसलाई चौबाटोमा फिर्ता गरिएको छ, दुःख दिएको छ जेनुइन मान्छेलाई पनि भन्ने तथ्य आम रूपमा स्थापित भएको छ।
यो कुराको छानबिन हुनुपर्छ भन्ने गर्नुको अर्थ गृहमन्त्री दोषी कसैले भन्या छैन तर छानबिन अगाडि उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने दलको हो प्रतिपक्षहरूको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी संसद अवरोध गर्ने योजनामा हुँदा डीपीनै अग्रसरतामा बजेट पेश गर्न दिने निर्णय भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी झस्किएको थियो। अर्थात् रविकै सहकारी मुद्दा उठाएर गृहमन्त्री बनेका लेखक रवि गृहमन्त्री भएका बेला भिजिट भिसाको जालो देखाएर उम्किने अस्त्र खोज्दै छन्। जहाँ प्रधानमन्त्री ओलीले पनि संसदको अवरोध खोल्न माओवादी फकाउने र राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक्ल्याउने नीति लिएका छन्।
ओलीले संसदीय दलको बैठकमा संसदको अवरोध खुलाउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पटकपटक कुरा गर्न खोजे पनि जानाजान सम्पर्कमा नआएको ब्रिफिंगसम्म गरेका थिए। केही छोको छैन, केही भएको छैन, एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो अरे भनेका भरमा हामीलाई रिस उठ्यो, गृहमन्त्री त्यसकारण राजीनामा गर्नु पर्यो।
यस्ता कुराले संसद अवरोध हुँदैन,संसद चलाउ भनेर मैले प्रचण्डजीसँग पनि कुरा गर्न खोजेँ। हामी लिडरहरूको विचारमा अलिकति छलफल पनि गरौं भनेर उहाँ सम्पर्कमा आउन चाहिरहनु भएको छैन। उहाँलाई थाहा नभएको होइन।
उहाँलाई धेरै तिरबाट खोजी गर्दा पनि उहाँ फेला पर्नु भएको छैन। भलै ओलीले यो अभिव्यक्ति दिएको केही घण्टामै सम्पर्कविहीन भएका प्रचण्ड एक्कासी सिंह दरबारमा ओलीसँगै झुल्किएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि भिजिट भिसामा जानेहरूको तथ्यांक संकलन गरेको र नयाँ क्लु फेला पारेको बताएको छ। उसले यो प्रमाण कहाँ बुझाउछ यसबारे केही भनेको छैन तर सत्ताधारी पार्टीले काउन्टर प्रमाण पेश गर्न थालेका छन्। व्यक्तिगत संलग्नता इन्कार गरे पनि भिजिट भिसाका नाममा सबैजसो गृहमन्त्रीको पालामा असुली धन्दा चलेको तथ्य लुकाउन सकिने अवस्था छैन।
अध्यागमन स्रोतका अनुसार त्यसरी जाने मध्ये ८० प्रतिशत सेटिंगमा उड्ने गरेका छन्। त्यसमा म्यानपावर व्यवसायको योजना तथा कर्मचारी, मन्त्री र प्रधानमन्त्रीका सचिवालयसम्मको संलग्नता र सहजीकरणमा यस्तो धन्दा चल्ने गरेको छ।
सेटिंगका कामम सबैको मिलेमतो देखिने अवस्था आए राष्ट्रिय सहमति हुने देशमा केही दिनमै लेखकको राजीनामाको मुद्दा नै सेलायो भने पनि अन्यथा मान्नुपर्ने अवस्था केही छैन।
