समानुपातिक सांसदहरूलाई हेपाहा प्रवृत्ति देखाए बजेट पास हुन दिँदैनौँः सांसद शाही

काठमाडौं। नेकपा एमाले सांसद दयालबहादुर शाहीले समानुपातिक सांसदहरूमाथि हेपाहा प्रवृत्ति नदेखाउन चेतावनी दिएका छन्।

मंगलवारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले समानुपातिक सांसदहरूलाई सरकारले हेपेको बताएका हुन्। उनले ७० जना सत्तारुढ दलका समानुपातिक सांसदहरू रहेको र समानुपातिक सांसदलहरूले चाहेको खण्डमा बजेट पास हुनबाट रोक्नसक्ने चेतावनी दिए।

गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधव नेपाल पनि कुनैबेलामा समानुपातिक नै रहेको उदाहरण दिँदै उनले बोल्नेहरूलाई मात्रै योजना दिने तर समानुपातिक सांसदहरू अनुशासित रुपमा बस्दा योजना नदिने गरेको बताए। संविधानअनुसार समानुपातिक खारेज गर्ने भए आफूहरू तयार रहेको बताए।

सांसद शाहीले सभापति लगायत, संसदीय दलका नेता लगायत पार्टीका अध्यक्षहरू ए क्लास, २५ जना मन्त्री बि क्लास, प्रत्यक्ष निर्वाचित १ सय ६५ जना सि क्लास, चर्को बोल्नसक्ने डि क्लास, समानुपातिक इ क्लस र राष्ट्रिय सभा एफ क्लासका राणा भएको बताए। समानुपातिक सांसदहरू अर्को अन्तरिक्षबाट नआएको भन्दै किन विभेद गरेको भन्ने उनको प्रश्न छ।