माओवादीका सिन्धुपाल्चोक वाइसिएल नेता रवि लामाको ठगी धन्दा,श्रमिकको श्रमशोषण गरेर फरार
काठमाडाैं। यो फोटोमा देखिएका व्यक्ति कुनै सामान्य मान्छे होइनन् । यिनी हेर्दा जति सामान्य देखिन्छन् त्यति सामान्य छैनन् । तपाईलाई यिनको वास्तविकता थाहा भयो भने पक्कै जिब्रो टोक्नुहुनेछ। सामान्य मानिसजस्तो देखिने यिनले यस्तो ठगीधन्दा चलाइरहेका छन् कि त्यसको कुनै लेखाजोखा नै छैन।
देशका विभिन्न जिल्लाका मजदुरहरुलाई यिनले श्रमका नाममा शोषण अभियान चलाइरहेका छन् । यिनी आफूलाई ठेकेदार भन्ठान्छन् तर यिनको धन्दा ठगी र श्रम शोषणको छ।
उनी चौतारा साँगाचोकगढी नगरपालिका–०३, सिन्धुपाल्चोकका स्थायी बासिन्दा हुन् । केही समयअघि जानुका निर्माण सेवा कम्पनीसँग पनौती नगरपालिका–१० पस्थली, काभ्रेपलाञ्चोकमा उनले नाला बनाउने कामको ठेक्का सम्झौता गरेका थिए।
ठेक्का सम्झौतामार्फत कम्पनीबाट पाउनुपर्ने सम्पूर्ण रकम लिएर उनी हाल फरार भएका छन्। तर, सो नाला बनाउन प्रयोग गरिएका मजदुरहरुको भने यतिबेला बिल्लीबाठ भएको छ।
सो रकम पाउनुपर्ने आशामा पीडित श्रमिकहरुले अवैधानिक ठेकेदार लामासँग पटकपटक सम्पर्क गरिसकेका छन् । सम्पर्क भएका बेला उनले जसरी पनि पैसा भुक्तानी गरिदिने आश्वासन दिन छोड्दैनन्।
भोलि, भोलि भन्दै पन्छ्याउन माहिर लामाले अहिलेसम्म रकम भुक्तानी गर्न सकेका छैनन् । सो काममा प्रयोग गरिएका श्रमिकहरुको बिल्लीबाठ बनाएर अवैधानिक ठेकेदार लामा ऐस, आरामको जिन्दगी गुजारा गरिरहेका छन्।
पैसाका लागि जसले सम्पर्क गर्छन् उनीहरुबाट सम्पर्कविहीन हुने उनको योजना नै बनेको देखिन्छ । जाजरकोटका केही श्रमिकहरुलाई उनले श्रम शोषण त गरेका छन् नै उनीहरुले पाउनुपर्ने रकममा व्यापक धन्दा चलाइरहेका छन्।
श्रम ऐन– २०७४ मा कुनैपनि श्रमिकलाई प्रतिदिन ८ घण्टा र हप्तामा ४८ घण्टासम्म काम लगाउन पाउने प्रावधान छ । ठेकेदार लामाले श्रमिकहरुलाई प्रतिदिन १२ घण्टाका हिसाबले काम गराएर चरम श्रम शोषण गरेको पीडितहरुले बताएका छन् ।
अचम्मलाग्दो कुरा त के भने यिनले केही श्रमिकहरुको ज्यालामा नै ठगीधन्दा मच्चाएका छन् । श्रमिकहरुलाई सुरुमा एउटा रकममा सम्झौता गरेर काममा लगाउने अनि रकम भुक्तानी गर्नेबेला अर्कै रकम दिएर उनले अनौठो ठगीधन्दा चलाएका छन् ।
जाजरकोटका हरि बुढा, हरि अधिकारी र गोरख अधिकारीलाई उनले सुरुमा दैनिक ८ सय रुपैयाँ दिनेगरी काममा लगाएका थिए । उनीहरुले रकम पाउनेबेला ७ सयको हिसाबकिताब गरियो । यसले गर्दापनि उनीहरु अन्यायमा परेका छन् ।
ठेकेदार रवि लामाबाट मजदुरहरुले पाउनुपर्ने रकम निम्नानुसार रहेको छः १- हरि अधिकारी– ७९०० २-गोरख अधिकारी – ७९०० ३-हरि बुढा – ७९०० ४- सुरेन्द्र अधिकारी – १२५०० ५- ललित चलाउने – १०००० ६- हृदय चलाउने – १४००० ७- प्रेम चलाउने – १६००० ८- लालबहादुर भुजेल – ९३०० ९- कर्ण अधिकारी – ५००० पाउनुपर्ने जम्मा रकम: ९०५०० यस्तो छ कानुनी व्यवस्था श्रम ऐन–२०७४ को दफा १६२ मा उजुरी दिन सक्ने व्यवस्था मिलाइएको छ ।
कुनै व्यक्ति, रोजगारदाता, श्रमिक वा पदाधिकारीले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कार्य गरेमा सो कार्यबाट मर्का पर्ने पक्षले वा मर्का पर्ने पक्षको लिलित मञ्जुरीमा सम्बन्धित ट्रेड युनियनले सो कार्य भए गरेको मितिले ६ महिनाभित्र दफा १६४ बमोजिम निर्णय गर्ने निकाय समक्ष उजुरी दिन सक्ने व्यवस्था गरिएको छ । सो ऐनकै दफा १६४ मा यससम्बन्धी व्यवस्था गरिएको छ ।
जसअनुसार यो विषयमा श्रम अदालतले निर्णय गर्न सक्ने व्यवस्था छ । सो दफामा भनिएको छ– ‘कसैले बाँधा श्रममा लगाएमा श्रम अदालतले त्यस्तो व्यक्तिलाई २ वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय गरी त्यस्तो व्यक्तिबाट श्रमिकको पारिश्रमिक भत्ता तथा सुविधा र सोको दोब्बर रकम हर्जानासमेत श्रमिकलाई भराइदिन सक्नेछ ।
तसर्थ, श्रमिकलाई चरम शोषण गरेर आफू मस्ती गर्न पल्केका रवि लामाजस्ता ठग ठेकेदारलाई कानुनी कठघरामा ल्याएर कारबाही गर्नैपर्ने देखिएको छ। यिनले श्रमिकले पाउनुपर्ने ज्यालामा व्यापक ठगीधन्दा चलाउनुका साथै, उनीहरुमाथि गम्भीर मानसिक तनाव दिइरहेका छन् । ठेकेदारका रुपमा ठगी धन्दा चलाउने रवि लामा अब कुनैपनि हालतमा उम्किने ठाउँ छैन।
