आज कञ्चनपुरका चार पालिकामा सार्वजनिक बिदा
कञ्चनपुर । कञ्चनपुरका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । बेलौरी नगरपालिका–५ स्थित भकुण्डामा लाग्ने गङ्गादशहरा मेलाका अवसरमा यहाँका चार पालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
जिल्लाको बेलौरी र पुनर्वास नगरपालिका, बेल्डाँडी गाउँपालिकाले बिहीबार एक दिनको बिदा दिएको छभने लालझाडी गाउँपालिकाले बिहीबार र शुक्रबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले नगरपालिकाको प्रमुख धार्मिक गन्तव्य भकुण्डामा लाग्ने मेलाका लागि पालिकाले एक दिन सार्वजनिक बिदा दिएको बताए ।
उनका अनुसार बेलौरी नगरपालिकास्थित वडा नं ५ मा रहेको प्रसिद्ध धार्मिकस्थल नक्टाबाबा ९कालेश्वर महादेव० मन्दिरमा हरेक वर्ष ज्येष्ठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन गङ्गादशहरा मेला लाग्ने गर्छ ।
‘यो क्षेत्रको ऐतिहासिक नक्टाबाबालाई प्रमुख धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने हाम्रो उद्देश्य छ’, नगरप्रमुख चौधरीले भने, ‘यसको महत्वलाई दृष्टिगत गरेर हामीले हरेक वर्ष गङ्गादशहरा एक दिन बिदा दिने गरेका छौँ ।
नक्टाबाबा मन्दिरमा परापूर्वकालदेखि नै ठूलो मेला लाग्ने गरेको बेलौरी नगरपालिका–५ का वडाअध्यक्ष लालबहादुर चौधरीले बताए । ‘रानाहरूको भाषामा नक्टाबाबा भनेर चिनिने यस स्थानमा गङ्गादशहरामा हरेक वर्ष ठूलो मेला लाग्नेगर्छ’, उनले भने, ‘नेपाल र छिमेकी मुलुक भारतका गरी एक लाख बढी दर्शनार्थीहरू यहाँ आउने गरेका छन् ।
वडाध्यक्ष चौधरीले यस क्षेत्रलाई धार्मिक सम्पदाको सूचीमा राख्नका लागि नगरपालिकाबाट पहल भइरहेको बताए ।
मेलामा कञ्चनपुर, कैलाली र बर्दिया जिल्लाबाट र छिमेकी मुलुक भारतका खिरी, बरेली, कानपुर, लखनउलगायत क्षेत्रबाट यहाँ दर्शनार्थीहरू आउने गरेका छन् ।

