अमेरिकाको भर्जिनियामा एकै घरका चार नेपाली मृत भेटिए
काठमाडौं । अमेरिकाको भर्जिनियामा चारजना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको मानेसास पार्कस्थित एकै घरका दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
उनीहरू सबैको गोली लागेर मृत्यु भएको देखिएको स्थानीय प्रहरीलाई उदृत गर्दै सीएनएनले जनाएको छ । प्रहरीले यस घटनालाई हत्यापछि आत्महत्या भएको आशंकामा अनुसन्धान गरिरहेको छ ।
मानेसास पार्क प्रहरीका अनुसार जुन ५ को राति १०ः४० बजे प्रहरी टोलीलाई लाने लेनको ९४०० ब्लकमा रहेको एक घरमा जाँचका लागि बोलाइएको थियो । समाचारमा जनाइएअनुसार घरधनीले आफ्ना भाडामा बस्ने व्यक्तिहरूसँग सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीहरू तलको अपार्टमेन्टमा प्रवेश गर्दा चार जनाको शव फेला परेको थियो । मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, २ वर्षे बालक, र ८ वर्षीया बालिका रहेको प्रहरीले जानकारी दिएको समाचारमा उल्लेख छ। उनीहरुको परिचय खुलेको छैन।
घटनास्थलमा एक थान बन्दुक समेत फेला परेको प्रहरीले जनाएको छ। सबै शवहरूलाई मानेसासस्थित मेडिकल एक्जामिनरको कार्यालयमा लगिएको छ।
प्रहरीले यस घटनालाई घरभित्रै सीमित रहेको पारिवारिक हत्याको रूपमा लिएको छ र बाहिरी व्यक्तिको संलग्नता नदेखिएको जिकिर गरेको छ। तर, गोली चलाउने व्यक्तिको परिचय भने सार्वजनिक गरिएको छैन।
एनबीसी वासिङ्टन ‘न्यूज ४’सँग छिमेकीहरूले मृतकहरू करिब ६ महिना अघि सो बस्तीमा बसाइँ सरेको बताएका छन्। मानेसास पार्क उत्तर भर्जिनियामा रहेको एउटा सहर हो, जुन वासिङ्टन डीसीबाट करिब ३० माइल दक्षिण–पश्चिममा, प्रिन्स विलियम काउन्टीको बिचमा पर्छ।
