गृहमन्त्री लेखकद्वारा लागू औषध विरुद्धको अन्तर्राष्ट्रिय दिवसअन्तर्गत सरोकारवालासँग छलफल
काठमाडौं। गृहमन्त्री रमेश लेखकले लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा आइतबार गृह मन्त्रालयमा सरोकारवाला निकायहरूसँग छलफल गर्नुभएको छ।
छलफलमा मन्त्री लेखकले लागू औषधको दुरुपयोगले मुलुकको सामाजिक संरचना, विशेषतः युवा पुस्ता, शिक्षालय तथा श्रमक्षेत्रमा गम्भीर असर पारिरहेको भन्दै त्यसलाई रोकथाम गर्न सबै तहमा संयुक्त प्रयास आवश्यक रहेको धारणा राख्नुभयो।
लागू औषधले केवल व्यक्तिगत जीवनलाई मात्र होइन, समग्र राष्ट्रको भविष्यलाई नै चुनौती दिइरहेको छ, उहाँले भन्नुभयो, यस विरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायबीच समन्वय, कडाइ र सचेतनाको सशक्त संयोजन जरुरी छ।
छलफलमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नार्कोटिक्स नियन्त्रण ब्युरो, शिक्षा तथा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, गैरसरकारी संघ–संस्था, पुनर्स्थापना केन्द्र तथा युवासँग सम्बन्धित संगठनहरूका प्रतिनिधिहरूको सहभागिता थियो।
प्रतिनिधिहरूले लागू औषधको पहुँच नियन्त्रण, पुनर्वासका कार्यक्रम सुदृढीकरण, विद्यालयस्तरमा चेतनामूलक कार्यक्रम विस्तार तथा सिमा नाकामा कडाइ बढाउनुपर्नेमा जोड दिएका थिए।
गृहमन्त्री लेखकले छलफलमा उठेका सुझावहरूलाई कार्यान्वयनमा ल्याउन गृह मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै लागू औषध विरुद्धको अभियानमा सरकार गम्भीर रूपमा लागिपरेको स्पष्ट पार्नुभयो।
संयुक्त राष्ट्रसंघले हरेक वर्ष जुन २६ तारिखमा लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउँदै आएको छ। नेपालमा पनि यस दिवसलाई लक्षित गर्दै विभिन्न कार्यक्रम हुँदै आएका छन्।
