लागुऔषधसहित विभिन्न स्थानबाट २१ जना पक्राउ

काठमाडौं। लागुऔषधसहित विभिन्न स्थानबाट २१ जना पक्राउ परेका छन्। काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ बौथलीचोक बस्ने ६० वर्षीय भाईराज श्रेष्ठलाई लागुऔषध पोल्याण्ड जस्तो देखिने पदार्थ ८ सय ७५ ग्राम र चरेश जस्तो देखिने पदार्थ १५ ग्राम सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले सोही ठाउँस्थित उनको किराना पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

ललितपुर, महालक्ष्मी नगरपालिका-१ इमाडोल आफलडोलबाट नियन्त्रित लागुऔषध नोफिन २९ एम्पुल, डाईजेपाम १७ एम्पुल, फेनारगन ५४ एम्पुल, सिरिन्ज ५२ थान, नगद १ लाख ३७ हजार ५ सय ६५ नेपाली रूपैयाँ, १ हजार भारतीय रूपैयाँ र मोबाइल ८ थान सहित ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने ३६ वर्षीय सुरज बानिया, सोही नगरपालिका-९ लुभु बस्ने २८ वर्षीया निनामा राई, २५ वर्षीय आयुष राई, सोही नगरपालिका-३ बोझेपोखरी बस्ने २३ वर्षीय अन्जन राना र सोही नगरपालिका-१ बस्ने मोरङ विराटनगर घर भएका ३३ वर्षीय अजय गौतम रहेका छन्। प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले अजय गौतमको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ।

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-३ भैरहवा बसपार्कबाट नियन्त्रित लागुऔषध स्पास्मो १ सय ९७ ट्याब्लेट सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत कानपुर बस्ने २४ वर्षीय साहवान खान, २२ वर्षीय फैसल खान र २४ वर्षीय साहजन खान रहेका छन्। अस्थायी प्रहरी बिट बसपार्क भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।

यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-९ नयाँ बसपार्कबाट नियन्त्रित लागुऔषध डाईजेपाम ७५ एम्पुल, फेनारगन ७५ एम्पुल र टालजेसीक ७५ एम्पुल सहित पर्वत कुश्मा नगरपालिका-१ बस्ने २२ वर्षीय कृष्ण विश्वकर्मालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।

दाङ, घोराही उपमहानगरपालिका-१० पथ्थरकोटबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ कटुकी बस्ने २८ वर्षीय केशव डाँगी र सोही उपमहानगरपालिका-९ मछाई बस्ने २२ वर्षीय केशव घर्ती मगर रहेका छन्। इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

उदयपुर, त्रियुगा नगरपालिका-११ बाट नियन्त्रित लागुऔषध ट्रामाडोल ५५ ट्याब्लेट सहित सोही नगरपालिका-१० बाँसबारी बस्ने २३ वर्षीय रोनिस दाहाल समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले प्रदेश १-०२-००२ ख ०१०९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।

झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-४ अनारमनी बस्ने ४२ वर्षीया अन्जु मण्डल र सोही नगरपालिका-१ सूर्यनगर बस्ने २४ वर्षीय अशारू चौधरी रहेका छन्। वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-७ बस्ने २६ वर्षीय सुरज सुनार र २६ वर्षीय सुमित विक रहेका छन्। इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतको बलइगाउँबाट नेपालतर्फ आउँदै गरेको बा।प्रदेश ०२-०५५ प ७८५१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट लागुऔषध गाँजा करिब ६ किलो २ सय ग्राम सहित कास्की पोखरा महानगरपालिका-९ न्यूरोड बस्ने गोरखा पालुङटार नगरपालिका-१० घर भएका २५ वर्षीय दिनेश श्रेष्ठलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको ग।२ ख १६१९ नम्बरको माईक्रोबसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।

कैलाली, लम्कीचुहा नगरपालिका-४ चौरीपुरबाट नियन्त्रित लागुऔषध ट्रामाडोल १ सय ६ ट्याब्लेट सहित सोही नगरपालिका-६ चैनपुर बस्ने २२ वर्षीय निर्मल कटेललाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।

चितवन, भरतपुर महानगरपालिका-१ पोखरा बसपार्कबाट नियन्त्रित लागुऔषध नाईट्राजेपाम ४० ट्याब्लेट सहित नवलपरासी पूर्व कावासोती नगरपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।