प्रहरीको ‘डीएसपी हुँ’ भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौ । नेपाल प्रहरीको ‘डीएसपी हुँ’ भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर काडमाडौंको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेको चौँरी देउरालीका ४५ वर्षीय ज्ञानबहादुर लामा भनिने ज्ञानु तामाङ र सुनसरीको इटहरी पाँचघरेका ४२ वर्षीय रेवती ओझा छन्।

हिरासतमा रहेका मानिसको मुद्दा मिलाइदिने भन्दै उनीहरूले ६ लाख रुपैयाँ ठगी गरेको आरोप छ। पक्राउ परेकाहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका प्रवक्ता तथा एसपी अपीलराज बोहराले बताए।

पक्राउ परेकामध्ये ज्ञानु २० फागुन २०७० मा हातहतियार तथा खरखजना मुद्दामा ५ वर्ष जेल बसेर छुटेका व्यक्ति रहेको प्रहरीले जनाएको छ।