गृहमन्त्री लेखक हटाउने र कांग्रेस तान्ने प्रचण्डका दुवै दाउ असफल,अबकाे बाटाे के ?
रनसुर महतारा (रमेश)
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का सरकार परिवर्तनका दुवै योजना असफल भएपछि उनी राजनीतिक एकलपनमा धकेलिएका छन्। सरकार बनेदेखि नै केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने योजनामा लागेका प्रचण्ड आन्तरिक बाध्यताका कारण पछि हट्नुपरेको छ।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग्न सुरु गरिएको अभियान र नेपाली कांग्रेससँग मिलेर सरकार ढाल्ने दुवै योजना फेल भएपछि माओवादी अध्यक्ष अहिले न सत्ताका न प्रतिपक्षका भएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको समेत नाम जोडिएपछि आफूलाई क्लिन बताउने माओवादीले उनको राजीनामा माग्न मध्यपहाडी लोकमार्ग अभियान नै स्थगित गरेर काठमाडौं केन्द्रित भएको थियो।
मानव तस्करीमा संलग्नताको आरोप लागेका गृहमन्त्री लेखकविरुद्ध विपक्षी मोर्चालाई एकढिक्का बनाउने प्रयत्न गर्दै कांग्रेससँग नयाँ सरकारको बार्गेनिङसमेत गरेका थिए। त्यस बेला प्रचण्डको अनुहारमा छुट्टै चमक देखिन्थ्यो। तर, आन्तरिक बाध्यताका कारण उनी यो मुद्दाबाट पछि हट्नुपरेको छ।
संसद् सञ्चालनको नाममा प्रचण्डले कांग्रेसका विभिन्न तहका नेताहरूसँग छलफल गरेका थिए। जेठ २३ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासँग भएको भेटले यो प्रयासलाई गति दिएको थियो। खड्का उनै पात्र हुन् जसले गत निर्वाचनमा कांग्रेस माओवादी गठबन्धन बनाउन सक्रिय भूमिका खेलेका थिए। पछिल्लो पटक एमालेसँग मिल्दासमेत कांग्रेस प्रचण्डतिरै ढल्किनु पर्ने भन्दै पार्टीमा असन्तोष नै राखेका थिए।
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमा व्यापक प्रश्न कांग्रेसकै नेताहरुले गरिरहेका बेला पूर्णबहादुरकै सक्रियतामा देउवासँग एकपटक टेलिफोन संवाद र एकपटक भेट नै भयो। पतञ्जलि जग्गा प्रकरणमा माधवकुमार नेपालमाथि मुद्दा चलेकोबारे देउवाले प्रचण्डसँग जिज्ञासा र असन्तुष्टि राखेका थिए। ओलीलाई जानुपर्ने देउवाको फोन प्रचण्डलाई गएपछि एमालेसमेत झस्किएको थियो।
स्रोतका अनुसार देउवा स्वयं ओलीका पछिल्ला गतिविधिबारे रुष्ट छन्। यसैमा प्रचण्डले खेल्न खोजेका थिए। तर, देउवा भने तत्काल ओलीविरुद्ध विद्रोह गरिहाल्ने पक्षमा नरहेको बुझिन्छ। ओलीप्रति भर नभएकाले जुनसुकै बेला जे पनि हुनसक्ने कांग्रेस नेताहरु बताउँछन्। तर देउवाको यस्तो मनोवृत्तिले प्रचण्डको यो योजनासमेत असफल भयो।
सर्वोच्च अदालतले १२ वर्षअघिको मुद्दामा माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटामाथि अनुसन्धानको बाटो खुलाएको छ। प्रहरीले अनुसन्धान गर्नुपर्ने अवस्था आए सरकारमा भर पर्नेछ। तत्काल पक्राउ पर्न सक्नेछन्। पार्टीभित्रै बढ्दो शक्ति संघर्ष र तारतम्यमा उत्तराधिकारी गुमाउँदै गएका प्रचण्डका लागि यो नमिठो क्षण हुन सक्नेछ। यही बेला माधवकुमार नेपालमाथि समेत मुद्दा दर्ता भएको छ।
सोही कारण सरकारमाथि धारेहात लगाउने कदमबाट माओवादी र एकीकृत समाजवादी पछि हटेको चर्चा छ। यही कारण लेखकको राजीनामाको बटमलाइनमा रहेका दुबै पार्टी तत्काल अख्तियारको अनुसन्धानलाई सघाउने भन्दै सदन चलाउन एकमत भएका थिए। तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो अडान छाडेन।
अहिले आफ्नो एजेण्डामा प्रतिपक्षीलाई हिँडाइरहेको माओवादी अब रास्वपाको मुद्दामा हिँड्नुपर्ने निरीहताको अवस्थामा पुगेको छ। आफ्नो एजेन्डामा प्रतिपक्षीलाई हिँडाउने सपना देखेका प्रचण्ड अहिले उल्टै अरूको एजेन्डामा हिँड्नुपरेको छ।
सबै राजनीतिक अस्त्र असफल भएपछि प्रचण्ड फेरि जनतातिर फर्किएका छन्। म्याग्दीका जनतालाई भेट्न पुगेका उनी तातोपानी कुण्डमा डुबुल्की मारेर मुड फ्रेसु गरिरहेका छन्। अहिले यो मुद्दा असरल्ल छाडेर पहाडको हावा खान निस्किएका प्रचण्ड न सत्ताका न प्रतिपक्षका भएका छन्। हरेक मुद्दामा प्रचण्डको हारको श्रृंखला जारी छ।
पार्टी अभियान नै रोकेर सुरु गरेको गृहमन्त्रीको राजीनामा मुद्दा पनि प्रचण्डलाई अहिले निल्नु न ओकल्नु भएको छ। सरकार परिवर्तनमा लगातार असफल भइरहेका प्रचण्डको राजनीतिक भविष्य अन्योलमा पुगेको छ।
