कर्णालीमा गाडीमा दुर्घटना, १४ जना सवार रहेको अनुमान

काठमाडौं। कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा परेको यात्रुवाहक गाडी १४ जना सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र.०२–००ख १०५५ नम्बरको गाडी आज सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो।

दुर्घटनास्थल एक जना पहिचान नखुलेका पुरुषको शव फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। सो गाडी अनियन्त्रित भई नदीमा खसेको अनुमान गरिएको छ।

दुर्घटनास्थलमा उद्धारका ३५ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।