हुम्लामा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु, ५ घाइते

काठमाडौं । हुम्लामा निर्माणाधीन सडकमा ग्याबिन भर्ने उद्देश्यले जग खन्ने क्रममा माटोको ढिस्को खसेर पुरिँदा एक युवतीको मृत्यु भएको छ ।
सिमकोट गाउँपालिका–४ स्थित बुराउसेमा माटोको ढिस्कोले पुरिएर स्थानीय २३ वर्षीया सुवित्रा विकको मृत्यु भएको हो ।
ढिस्कोमा पुरिएर गम्भीर घाइते भएकी विकको उपचारको क्रममा जिल्ला अस्पताल सिमकोटमा मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख शङ्कर पोखरेलले जानकारी दिए ।
सोही घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा २५ वर्षीय पदम सार्की, अन्दाजी २२ वर्षीया शर्मिला विक, ५४ वर्षीया हीरा लामा, ४० वर्षीय पेमा लामा र ५० वर्षीया डोल्मा लामा रहेका छन् । उनीहरूको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
