एमालेभित्र शक्ति संघर्ष चर्मोत्कर्षमा,ओली-भण्डारी मित्रता राजनीतिक प्रतिस्पर्धामा रूपान्तरित

काठमाडौं। नेकपा एमालेभित्र पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वउपाध्यक्ष एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको शक्ति संघर्ष चर्मोत्कर्षमा पुगेको छ। तीन दशकदेखिको राजनीतिक मित्रता अब पार्टी नेतृत्वको प्रतिस्पर्धामा परिणत हुने अवस्थामा पुगेको देखिन्छ।

पछिल्लो समय भण्डारीले चार प्रदेशमा गरेको व्यापक भ्रमण र ओलीकै गृह जिल्ला झापामा नेता कार्यकर्ताको बलमा अध्यक्ष उठ्ने संकेत गरेपछि एमालेभित्रको राजनीतिमा स्पष्ट ध्रुवीकरण देखिन थालेएको छ। राष्ट्रपति भएपछि लामो समयदेखि बालुवाटार नपुगेकी भण्डारीले दुई दिनअघि मात्रै प्रधानमन्त्री निवास पुगेर ओलीसँग डेढ घण्टाको बैठक गरेकी थिइन्।

भेटवार्ताका क्रममा भण्डारीले पार्टीका नेता तथा कार्यकर्ताहरूले व्यक्त गरेका धारणा र पार्टी राजनीतिमा आफ्नो सम्भावनाबारे स्पष्ट रूपमा बताए छ। भण्डारीले दृढ अडान राखेपछि ओलीले सरसल्लाह गरौंला भन्दै विषयान्तर गरेको भन्ने दाबी गरिएकाे छ।

एमालेको आगामी एघारौं महाधिवेशनका लागि भदौंमा हुने नीति महाधिवेशनदेखि नै रणनीति बनाउँदै भण्डारी समूहले ७० वर्षको उमेर हदको प्रावधान र दुईवटा कार्यकाल मात्रै नेतृत्व गर्न पाउने नियमलाई हतियारका रूपमा प्रयोग गर्ने तयारी गरेको छ। यी दुवै एजेण्डा विडम्बनापूर्ण रूपमा स्वयं ओलीले नै अघि सारेका थिए।

चार पटक प्रधानमन्त्री र दुई कार्यकाल पार्टी अध्यक्ष रहिसकेका ओलीमा हावी भएको एकाधिकारवादी प्रवृत्तिले असन्तुष्ट पक्षलाई भण्डारीको विकल्पमा आकर्षित गरेको छ। पार्टीभित्र ओलीको एकलौटी भूमिकाप्रति बढ्दो असन्तुष्टिले भण्डारीको सक्रियतालाई नयाँ आशाको दियो बालेकाे पार्टी कार्यकर्ताले बताएका छन्।

ओलीको कार्यशैलीले पार्टी दिनप्रतिदिन क्षयिकरण अवस्थामा पुगेको निष्कर्ष निकालेका नेता कार्यकर्ताले भण्डारीलाई रेड कार्पेटले स्वागत गरिरहेका छन्। तर पार्टीको संस्थापक पक्षले भने यस्ता गतिविधिलाई स्वीकार्य नमानेको स्पष्ट संकेत दिएको छ।

पूर्व राष्ट्रपतिसमेत भइसकेकी व्यक्ति पुनः सक्रिय राजनीतिमा आउनुलाई केही मंडलहरूले उपयुक्त नठानेको भए पनि ओलीलाई चुनौती दिने साहस दोस्रो तहका नेताहरूले गर्न नसक्दा भण्डारी उपयुक्त पात्र भएको एक नेताले धारणा राखेका छन्। ओलीको एकछत्र शासनको डरमा रहेका एमालेका नेताहरू पार्टीभित्र भीम रावलको जस्तै अवस्थामा पर्ने डरमा छन्।

यद्यपि प्रष्ट रूपमा नखुलेको भए पनि धेरैजसो पदाधिकारी सदस्यहरू ओलीको गतिविधिमा रुष्ट रहेको भित्री सूत्रहरूले बताएका छन्। पछिल्लो समय वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ओलीविरुद्ध प्रष्ट रूपमा खुलेको देखिएको छ भने सचिवालय सदस्यहरू विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र पृथ्वीसुब्बा गुरुंगले पनि ओलीको कार्यशैलीको विकल्प खोजिरहेको बुझिएको छ।

यसैबीच छविलाल विश्वकर्मा र योगेश भट्टराई जस्ता सदस्यहरू भने न त ओलीको पक्षमा छन् न त भण्डारीकै पक्षमा खुलेर आएका छन्। मधेशमा बलियो पकड भएका रघुवीर महासेठ र सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्टले यदि भण्डारीको पक्षमा खुलेर आए भने उनको पल्ला भारी हुन सक्ने राजनीतिक विश्लेषकहरूको मत छ।

वर्तमान परिस्थितिमा एमालेभित्रको यो आन्तरिक द्वन्द्वले नेपालको समग्र राजनीतिक परिदृश्यमा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ। मुख्य विपक्षी दलको नेतृत्वमा देखिएको यो संघर्षले सत्तारूढ गठबन्धनलाई फाइदा पुर्याउन सक्ने राजनीतिक पर्यवेक्षकहरूको विश्लेषण छ।

भदौंमा हुने नीति महाधिवेशनदेखि नै यो शक्ति संघर्षले कस्तो मोड लिन्छ भन्ने कुराले एमाले मात्र नभएर नेपालको राजनीतिमा व्यापक प्रभाव पार्ने निश्चित छ। ओलीप्रतिको बढ्दो असन्तुष्टि नै भण्डारीको सक्रिय राजनीतिको मुख्य ढोका बन्न सक्ने अवस्था देखिएको छ। 

यसबीचमा चीन र माओवादी केन्द्रको समर्थनले भण्डारीको स्थिति बलियो भएको छ भने ओली परम्परागत समर्थकहरूको खोजीमा छन्। यो संघर्षको परिणामले एमाले मात्र नभएर नेपालको राजनीतिक भविष्य निर्धारण गर्ने देखिन्छ।

वर्तमान परिस्थितिमा भण्डारीको अध्यक्ष बन्छु भन्ने दाबी केवल व्यक्तिगत महत्वाकांक्षा नभएर क्षेत्रीय भू-राजनीतिक खेलको हिस्सा बनेको छ। यसको अन्तिम परिणाम नेपालको लोकतन्त्र र संप्रभुताका लागि कस्तो हुन्छ भन्ने कुरा समयले मात्र बताउनेछ।

माओवादी केन्द्रको चालबाजी

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको माओवादी केन्द्रमा सक्रिय राजनीतिमा फिर्ती र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मध्यपहाडी राजमार्गमा यात्राले एमालेभित्र भण्डारीको राजनीतिक पुनरागमनको अनुमानलाई पुनः बलियो बनाएको छ।

प्रचण्डको यो रणनीति दोहोरो उद्देश्य राखेको देखिन्छ। एकातिर उनले कम्युनिष्ट एकताको नाममा आफ्नो राजनीतिक स्थिति बलियो बनाउन खोजिरहेका छन् भने अर्कोतिर एमालेमा विभाजन ल्याएर ओलीलाई कमजोर पार्ने दाउमा छन्। माओवादी नेतृत्वको यो चाल चीनका रणनीतिक स्वार्थसँग मेल खान्छ। 

क्षेत्रीय भू-राजनीतिको प्रभाव
चीनको कम्युनिष्ट एकता एजेण्डाले नेपालको राजनीतिमा नयाँ ध्रुवीकरण ल्याउने संभावना छ। भण्डारीले चीन भ्रमणपछि भारत भ्रमण गर्ने योजना पनि बनाएकी छिन्, जसले उनको राजनीतिक छविलाई थप बलियो बनाउने उद्देश्य राखेको देखिन्छ।

यस परिप्रेक्ष्यमा भण्डारीको उदय केवल एमालेको आन्तरिक मामला नभएर क्षेत्रीय शक्ति संतुलनको विषय पनि बनेको छ। चीनको नेपालमा बढ्दो प्रभावलाई काउन्टर गर्न भारतले पनि आफ्ना रणनीति बनाउने अनुमान गरिएको छ।