गृहमन्त्री लेखकद्वारा एसईईमा उत्तीर्ण विद्यार्थी, शिक्षक र अभिभावकलाई बधाई

फाइल तस्वीर

काठमाडौं । गृहमन्त्री रमेश लेखकले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता हासिल गर्ने विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिएका छन्। उनले परीक्षामा उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना गर्दै शैक्षिक यात्रामा थप उचाइ हासिल गर्न प्रेरणा मिल्ने विश्वाव्यक्त गरेका छन्।

एक सन्देशमार्फत गृहमन्त्री लेखकले परीक्षा सफल बनाउन सहयोग पुर्‍याउने शिक्षक, विद्यालय परिवार, अभिभावक तथा सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले शिक्षा क्षेत्रको विकासमा सबै पक्षको योगदान सराहनीय रहेको उल्लेख गर्दै राष्ट्र निर्माणमा शिक्षाको भूमिका महत्वपूर्ण रहेको धारणा राखेका छन्।

“विद्यार्थीहरूको सफलतामा अभिभावक, शिक्षक र विद्यालयको अथक मेहनत जोडिएको हुन्छ। भविष्यमा अझ परिश्रमी र अनुशासित भई राष्ट्रका सक्षम नागरिक बन्ने अपेक्षा गरेको छु।

गृहमन्त्री लेखकले विद्यार्थीहरूलाई यो सफलताले तिनीहरूको भविष्यको उज्ज्वल आधार तयार गरेको बताउँदै आगामी दिनहरूमा अझ ठूला उपलब्धिहरू हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।

शिक्षा नै राष्ट्रको मेरुदण्ड हो। तपाईंहरूको यो सफलताले देशको शिक्षा क्षेत्रमा सकारात्मक सन्देश पुर्याएको छ, उनले भने विद्यार्थीहरूलाई पढाइमा निरन्तरता दिंदै अनुशासन र आत्मविश्वासका साथ अगाडि बढ्न आग्रह गरे। आगामी चुनौतीहरूको सामना गर्न तयार रहनुहोस् र सधैं उच्च लक्ष्य राखेर अघि बढ्नुहोस्।

गृहमन्त्री लेखकले अभिभावक, शिक्षक र विद्यालय प्रशासनलाई पनि धन्यवाद दिंदै उनीहरूको सहयोग र मार्गदर्शनले विद्यार्थीहरूको सफलतामा महत्वपूर्ण भूमिका खेलेको बताए।

सरकार शिक्षा क्षेत्रको सुधार तथा स्तरीय शिक्षाको प्रवर्द्धनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले आगामी दिनमा यस्ता परीक्षा प्रणालीलाई अझ पारदर्शी र प्रभावकारी बनाउने बताएका छन्।