रास्वपाकै नेताको कम्पनीबाट भिजिट भिसा कारोबार,पार्टी नैतिक संकटमा

काठमाडौं। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले गम्भीर संकटमा परेको छ।

संसद्मा निरन्तर बिना प्रमाण गृहमन्त्री रमेश लेखकको राजिनामा माग्दै आएको रास्वपामाथि संकटै संकट आइपरेका छन्। पार्टी सभापति रबि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै अदालतलाइ नै चुनौति दिने गरि पार्टीका नेताहरू आर्थिक संकलनदेखि हस्ताक्षर अभियान सञ्चालन गरेर जनतालाइ नै भ्रम सृजना गरिरहेका छन्। सहकारी ठगी प्रकरणमा सर्वच्च अदालतले उच्च अदालतको फैसलालाइ नै सदर गरेपछि लामिछाने जेलमै बस्नु पर्ने भएकाे थियाे। तर रास्वपाका नेताहरूले भने राजतीति प्रतिशोध भएको भन्दै अदालतको अपमान गरेर न्याय माग गरिरहेकाे नाटक गरेर देशभर अभियान नै सञ्चालन गरि आर्थिक संकलन समेत गरिरहेका छन्।  

त्यस्तै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्समार्फत विगत १० वर्षदेखि जापानमा हजारौं नेपालीलाई भिजिट भिसाको नाममा पठाइ अर्बौं रुपैयाँको कारोबार गरिएको भन्दै संसद्मै नाम लिएर गम्भीर आरोप लगाएपछि याे विषय छताछुल्ल भएकाे छ।

 त्याे ट्राभल्स कम्पनी रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालकै अध्यक्षतामा रहेको तथ्य सार्वजनिक भएपछि पार्टी थप नैतिक संकटमा परेको देखिएको छ।

शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद खतिवडाले खुल्ला रूपमा प्रश्न उठाउँदै भनेका छन्, सुमिरे टुर एण्ड ट्राभल्स भन्ने कसको हो, विगत १० वर्षदेखि भिजिट भिसाको नाममा हजारौं मान्छे पठाएर अर्बौं कमाएर सांसद किन्ने, पार्टी कब्जा गर्ने काम भएको छ। संसद्‌मा त्यहीँ मान्छेहरू उफ्रिँदै हिँड्छन्। यो ठगी हो, यसकाे छानबिन हुनुपर्छ।

उनको यो अभिव्यक्तिले प्रतिनिधिसभा हलमा हलचल ल्यायो। खतिवडाले भिजिट भिसाका नाममा हुने दुरुपयोगको छानबिन गर्न सरकारसँग विशेष समिति गठनको माग समेत गरेका छन्।

खतिवडाको प्रश्नपछि सञ्चारकर्मीहरूले सुमिरे ट्राभल्सको खोजी थाले। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्समा दर्ता नम्बर १७८/०३ रहेको कम्पनीको कार्यालय काठमाडौं १६, सोह्रखुट्टेमा रहेको देखिएको छ। ट्राभल्सका प्रतिनिधिहरूले स्वीकार गरेका छन् कि उक्त कम्पनीका अध्यक्ष डीपी अर्याल नै हुन्। कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनाल रहेकाे बताइएकाे छ।

एक सञ्चारकर्मीले कम्पनीसँग सम्पर्क गरेर संवाद गर्दा अध्यक्ष को हुनुहुन्छ भन्ने प्रश्नको जवाफमा डीपी सर भनिएको छ। जापान विशेष प्याकेज कति पर्छ भन्ने प्रश्नमा २ लाखदेखि २.५ लाखसम्म र कुन भिसा हो भन्दा भिजिट भिसा भनी खुलेर भनेकाे संवादमा सुन्न सकिन्छ।

सुमिरे ट्राभल्सले हालै आफ्नो फेसबुक पेजमा जापान भ्रमणको भिजिट प्याकेज सार्वजनिक गरेको देखिन्छ। चार–पाँच दिनको २ लाख ५० हजार रुपैयाँ पर्ने प्याकेजमा ग्राहकलाई जापान घुमाउने दाबी गरिएको छ। उक्त कम्पनीले थाइल्यान्ड, दुबई, मलेशिया लगायत गन्तव्यमा समेत यस्तै प्याकेजमार्फत पर्यटक पठाउने गरेको देखिन्छ। तर, विशेषगरी जापानका लागि भिजिटको नाममा वैदेशिक रोजगारीको ढोका बनाइएको आशंका गरिएकाे छ।

रास्वपा पछिल्लो एक महिनादेखि संसद अवरुद्ध गर्दै भिजिट भिसा दुरुपयोग र गृहमन्त्रीको नैतिक जिम्मेवारीको माग गर्दै आएको छ। तर, त्यसै प्रकरणमा पार्टीकै उच्च नेताको संलग्नता देखिनु पार्टीको नैतिकतामाथि गम्भीर प्रश्न हो। अब रास्वपाले आफ्ना पार्टीका नेतामाथि छानविन गर्न संसदमा प्रश्न गर्ला त? भन्ने गम्भीर प्रश्न खडा गरेकाे छ। अझ कुरा त के छ भने नैतिकताकाे पाठ सिकाउने रास्वपाले अब नैतिकता देखाउला त? 

पार्टी एकातिर छानबिनको माग गर्छ। अर्कोतिर आफ्नै नेताको नेतृत्वमा यस्तो व्यापार सञ्चालन हुन्छ भने त्यो आत्मविरोधी अवस्थामा रास्पाले कस्ताे नैतिकता देखाउला त्याे भने हेर्न बाँकी छ। 

यस विषयमा रास्वपाले औपचारिक धारणा अझै सार्वजनिक गरेको छैन। पार्टीभित्र यसले असहज स्थिति सिर्जना गरेको जनाइएको छ। त्यस्तै गृह मन्त्रालय, पर्यटन विभाग, अध्यागमन विभाग जस्ता निकायहरूले सुमिरे ट्राभल्स जस्ता संस्थाको अनुमति, लेखापरीक्षण, र कार्यविधिमाथि तत्काल अनुसन्धान सुरु गर्नुपर्ने माग गरिएका छन्।  

भिजिट भिसाको नाममा देशबाहिर जाने नेपाली युवाको भविष्यसँग खेलवाड गर्नु गम्भीर अपराध हो। यस्तो कार्यमा संलग्न व्यक्तिहरू संसद्मा प्रतिनिधित्व गर्दैछन् भने लोकतन्त्रको नैतिकता नै अपमानित हुन्छ।

यो प्रकरणले रास्वपाको आन्तरिक चरित्र देखाएको छ,नेपालमा राजनीतिज्ञ र व्यवसायबीचको अस्वस्थ सम्बन्ध कति घातक हुनसक्छ भन्ने उजागर गरेको छ। अब जिम्मेवार निकायहरूबाट छिटो, निष्पक्ष र पारदर्शी छानबिनको अपेक्षा जनताले गरेका छन्। दूधको दूध र पानीको पानी गर्ने समय आएको छ।