सुमिरे टुर ट्राभल्सको छानबिनको माग गर्दा तर्सिनुले केही शंका छ: सभापति खतिवडा
काठमाडौं। नेपाली काँग्रेसका नेता तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अवैधानिक काम गरेर पार्टी किन्ने र सांसद भई सरकार र संसद्लाई थर्काउने कुरा गलत भएको बताएका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। शनिवारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूप्रति लक्षित गर्दै सांसद खतिवडाले सुमिरे टुर ट्राभल्सले भिजिट भिसाका नाममा अर्बौं रुपैयाँ ठगेको आरोप लगाएका थिए।
साथै अनियमितता गरेर सांसद बनेर संसद्मा आई थर्काउने काम गरेको आरोप लगाए। जसको जवाफमा आइतवारको बैठकमा रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सुमिरे टुर एण्ड ट्राभल्सले भिजिट भिसाका नाममा नागरिक ठगेको प्रमाण पेश गर्न चुनौती दिए। सुमिरे टुर ट्राभल्स आफ्नो कम्पनी भएको बताएका थिए।
खतिवडाले भने, ‘उहाँकी श्रीमती हुण्डी गर्ने, अवैधानिक काम गर्ने, त्यो नाममा पार्टी किन्ने, किनेर सांसद हुने र यहाँ आएर संसद्देखि सरकारलाई थर्काउने कुरा गलत छ।
सुमिरे ट्राभल्समा उहाँहरूले गरेका गतिविधि के छन्, निष्पक्ष छानबिन होस्। छानबिन गर्नुपर्छ भन्दा आत्तिएको देख्दा दालमा कुछ काला है। उनले निष्पक्ष छानविन गर्नुपर्छ भन्दा आत्तिनुले दालमा कुछ कालो रहेको स्पष्ट हुने बताए।
