नागार्जुनका मेयर बस्नेतलाई भ्रष्टाचार मुद्दामा ८ वर्ष ३ महिना कैद

काठमाडौं। काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ८ वर्ष ३ महिना कैद सजाय सुनाएको छ। अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले यो फैसला गरेको हो।

बस्नेतलाई २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ ८ पैसा जरिवाना तोकिएको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा बिगो कायम गरी ३ वर्ष कैद र बिगोको दोब्बर अर्थात् २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ ८६ पैसा जरिवाना तोकिएको छ। साथै, गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत हुने भएको छ। सम्पत्ति शुद्धीकरण कसुरमा राष्ट्रसेवकलाई थप १० प्रतिशत (३ महिना १० दिन) कैद सजाय पनि थपिएको छ।

बस्नेतले पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि र ती कम्पनीका अध्यक्ष राजुप्रसाद कँडेलबाट १ करोड १४ लाख २३ हजार ५०२ रुपैयाँ ८० पैसा पीडित राहत कोषमा क्षतिपूर्तिका रूपमा दाखिला गर्नुपर्नेछ।

यसैगरी, कँडेललाई पनि ८ वर्ष कैद सजाय सुनाइएको छ। कँडेल र दुई कम्पनीले २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ बिगो दामासायीले भराउनुपर्नेछ । बस्नेत र कँडेलसहित दुई कम्पनीविरुद्ध ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घूस लेनदेन गरेको आरोप थियो। बस्नेत नेपाली कांग्रेसबाट लगातार दुई कार्यकाल मेयर निर्वाचित भएका थिए।