सम्पूर्ण किताब उत्सव -२०८२ सम्पन्न

 चितवन। सम्पूर्ण किताब उत्सव -२०८२ एक कार्यक्रमको बीच भव्यरुपमा सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व सम्पूर्ण किताबका निर्देशक लेखराम सापकोटा एवम् सहजीकरण विनोदबाबु रिजालले गरे।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै एक्सपर्ट एजुकेशन एण्ड कन्सल्टेन्सी प्रा लि का निर्देशक डिल्लीराम अधिकारीले उपस्थित सबै प्रसिद्ध साहित्यकार एवम् साहित्यिक संघसंस्थाका प्रतिनिधिहरुमा हार्दिक आभार एवम् धन्यवाद टक्र्याएका थिए।

कार्यक्रममा बोल्दै सम्पूर्ण किताबका निर्देशक लेखराम सापकोटाले साहित्यको श्रीवृद्धिमा टेवा पुर्याउने योजनामा यो आयोजना गरिएको बताए, साथै चितवनको साहित्यिक किताब बजारको बेलीबिस्तार लगाए। कार्यक्रममा भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव बालकृष्ण थपलियाले कार्यक्रममा विमोचित कृतिका लेखक तिलक न्यौपाने, रमेश प्रभात र भिम शर्मा सुवेदीको कृतित्व एवम् व्यक्तित्वबारेमा प्रकाश पारे।

कार्यक्रमको पहिलो चरणमा डाक्टर प्रोफेसर एक नारायण पौडेलले ‘चितवनको साहित्य: गति र दिशा’ विषयमा आफ्नो समालोचना प्रस्तुत गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेशम विरहीले तिलक न्यौपानेको शब्दपुष्प, रमेश प्रभातको निसमालोचना सङग्रह ‘अरु अलिकति फरक कुरा’ र भिम शर्मा सुवेदीको ‘कुण्डलिनी योग’ एक साथ विमोचन गर्न पाउँदा खुशी लागेको बताउदैं चितवनको साहित्यिक आकाशमा पठन संस्कृतिको विकास एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे।

कार्यक्रममा एक्सपर्ट एजुकेशन एण्ड कन्सल्टेन्सी प्रा लि का निर्देशक डिल्लीराम अधिकारीले वार्षिक पचास हजार राशीको साहित्यिक पुरस्कार प्रदान गर्ने घोषणा गरे। उक्त पुरस्कार हरेक वर्ष सम्पूर्ण किताब उत्सवको दोश्रो संस्करणदेखि प्रदान गरिनेछ।

कार्यक्रममा ‘के पढ्छन् बालबालिका ‘ शिर्षकमा अंकुरम् एकेडेमीका आशीर्वाद सापकोटा, गैंडाकोट इङ्लिस स्कुलकी अभिश्री कँडेल, किड्स होम एकेडेमीकी रञ्जना बञ्जारा, विश्वप्रकाश माविका आभाष काफ्ले र कर्णबहादुर बानियाँसँग आकाश पौडेलले कुराकानी गरेका थिए । यो छलफलमा बोल्दै बालमनोविश्लेषक बानियाँले विद्यार्थीको उमेर अनुसार उनीहरूको रुचि बुझेर पढ्ने सामग्री दिनुपर्ने बताए । छलफलमा सहभागी विद्यार्थीले आफ्नो विद्यालयमा अतिरिक्त किताब पढ्ने सहज वातावरण भएको बताए ।

उनीहरूले आफ्नो पुस्तकालयमा आफूले चाहेका किताब भेट्ने गरेको सुनाए । शिक्षकले किन पढ्ने ? शीर्षक दिइएको तेस्रो सत्रमा महेन्द्र पौड्याल, सामना पहाड, नवराज कँडेल र बटुकलाल तामाङसँग विपिन पाठकले बहस गरेका थिए । आम शिक्षकले अतिरिक्त किताब पढ्नलाई रुचि नगरेको छलफलमा चर्चा भएको थियो । विद्यार्थीलाई पढाउनुपर्ने विषयमा मात्रै शिक्षक केन्द्रित हुने गरेको छलफलको निष्कर्ष थियो ।

चौथो सत्रमा ‘चितवनको किताब बजार : हिजो र आज’ शीर्षकमा केन्द्रित रही पुस्तक व्यवसायीहरू मास्के पुस्तक भण्डारकी रजनी मास्के, नारायणी पुस्तक सदनका गुरुप्रसाद न्यौपाने सुशील, रचना पुस्तक पसलका महेन्द्र कोइराला र सम्पूर्ण किताबका लेखराम सापकोटासँग पत्रकार सूर्यप्रकाश कँडेलले कुराकानी गरेका थिए। २०६० सालपछि अतिरिक्त किताबको व्यापार बढेको बारेमा छलफल भएको थियो । कता जाँदैछ चितवनको साहित्य ?´ विषयक पाँचौँ सत्रमा एलबी क्षेत्री, उदय अधिकारी, भूपिन र शान्ति शर्मासँग रमेश प्रभातले बहस गरेका थिए । चितवनको समग्र साहित्य लेखनका बारेमा यो बहसमा छलफल भएको थियो ।

उत्सवको अन्तिम सत्र ‘सम्पूर्ण काव्य सन्ध्या’ लाई सिर्जन अविरलले सञ्चालन गरेका थिए । काव्य सन्ध्यामा कविहरू सरला जोशी, विद्या भण्डारी चिराग, प्रकाश चापागाईं, किसान प्रेमी, एकदेव रिमाल, सुरेन्द्र अस्तफल, प्रवीण सन्नाटा, आदर्श सुशील, अञ्जान प्रदीप, माया गुरुङ, पुष्प अधिकारी अञ्जलि, मनोज चौधरी, सरस्वती पौडेल, परिवेश चापागाईं, बिष्णु तिवारी उषा, राधा कोइराला, पदम अर्याल, मेनका चापागाईं, प्रेम कडेल , उपेन्द्र त्रिपाठी, अजित उत्सव र वसन्त पराजुली लगायतले कविता वाचन गरे।

कार्यक्रम भव्य र उल्लासमय रुपमा सम्पन्न गर्न सहयोग एवम् सहभागी सबै सबैमा कार्यक्रमका अध्यक्ष सम्पूर्ण किताबका निर्देशक लेखराम सापकोटाले सधन्यवाद आभार व्यक्त गरे।