एसीसी १६ इस्ट जोन कप: नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं। एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ।

मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान पौने ८ बजे खेल शुरु हुनेछ।

अहिलेसम्म खेलेका तीनवटै खेलमा विजयी हुँदै समूह ‘ए’मा शीर्ष स्थानमा रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ। नेपालसँगै समूह ‘ए’बाट चार खेलमा छ अङ्कसहित दोश्रो स्थानमा रहेको सिङ्गापुर पनि सेमिफाइनलमा पुगेको छ। यस्तै समूह ‘बी’बाट मलेशिया र हङकङ सेमिफाइनलमा प्रवेश गरेका छन्।

आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई छ विकेट, दोश्रो खेलमा जापानलाई नौ विकेट र इन्डोनेसियालाई चार सय २१ रनको फराकिलो अन्तरले हराएको थियो। १६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन्।

समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन्। यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन्।

सेमिफाइनलका खेलहरु पर्सि बिहीवारदेखि शुरु हुनेछ। प्रतियोगिताको फाइनल खेल असार २१ गते शनिवार हुनेछ।

 

 त्यस्तै नेपालले एसिसी यु–१६ इस्ट जोन कपमा भुटानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर ब्याटिङको निर्णय लिए।

नेपाल लगातार चौथो जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा छ। यसअघि नेपालले सिंगापुर, जापान र इन्डोनेसियालाई पराजित गरेको थियो।

यता समूहचरणबाटै बाहिरिसकेको भुटान पनि जितका साथ प्रतियोगिताको अन्त्य गर्न चहान्छ।