निजामती विधेयकमा चलखेल गर्नेलाई तुरुन्त कारबाही होस्: शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले निजामती सेवा विधेयकबाट सुटुक्कै कुलिङ पिरियडको प्रावधान गायब बनाइएकोमा आपत्ति जनाएका छन्। उनले ‘सर्वसम्मतिबाट संसदमा पेस भएको विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनुरगराइनु देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रतिको अपमान हो’ भनेका छन्।

नेता कोइरालाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सर्वसम्मतिबाट संसदमा पेस भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु, गराइनु कुनै सामान्य घटना नभई, देश र जनता प्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान हो ।’

यस प्रकरणमा जोडिएकालाई तुरुन्तै कारबाही गर्न मागसमेत नेता कोइरालाले गरेका छन्। साथै परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा फर्काउन माग पनि गरेका छन्।

‘यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदै सम्मको कारवाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाऊँ। कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारवाही अगाडि बढ्नु हुँदैन र बढ्दैन’, उनले भनेका छन्।