भोटेकोशीले ८ ईभी गाडी र ४ मालबाहक कन्टेनर बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन सिमानाका रसुवागढीस्थित मितेरीपुल भाँचिएको छ । आज बिहान करिब ३ बजेतिर गोसाइँकुण्ड गाउँपालिका–२ मा बग्ने भोटेकोशीमा एक्कासी बाढी आउँदा मितेरी पुल बीचबाट भाँचिएर बगाएको हो ।

त्यस्तै टिमुरेस्थित भन्सार यार्डमा राखिएका चारवटा मालबाहक कन्टेनर बाढीले बगाएको छ भने चार्जिङ स्टेशनमा राखिएका आठवटा जति ईभी गाडी पनि बाढीले बगाएको रसुवा प्रहरीले जानकारी दिएको छ।

त्यस्तै भन्सार यार्डमा राखिएका ९ वटा लोड कन्टेनर डिब्बा पनि बाढीले बगाएको छ । बाढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति भएको छ । नदिमा पानीको बहाव अझै बढिरहेकोले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय नागरिकहरुलाई सचेत गराइएको प्रहरीले जनाएको छ।

त्यहाँ अहिले टिमुरेबाट सशस्त्र प्रहरीका सहायक निरीक्षक प्रकाश पाण्डेको कमाण्डमा २० जनाको टोली खटिएको छ ।
गोसाइँकुण्ड गाउँपालिका २ तातोपानी स्थित पासाङल्हामु राजमार्ग अन्तर्गत स्याफ्रुबेशी९ रसुवागढी सडक खण्ड पनि बाढीले कटान गरेको छ। ठाउँठाउँमा पहिरो झरेर सडक अवरुद्ध छ।

रसुवागढीको भन्सार कार्यालयको यार्डको बाढीमा फसेको २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनालाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले उद्धार गरेको छ।