कुलिङ किर्ते प्रकरण: छानविन समितिको पहिलो बैठक बस्दै
काठमाडौं। सङ्घीय निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी प्रकरणमा अनुसन्धान गर्न बनेको छानबिन विशेष समितिको पहिलो बैठक आज बस्दैछ। सभामुख देवराज घिमिरेको उपस्थितिमा बैठक दिउँसो १२ बजे संसद् भवनस्थित शङ्कर हलमा बस्ने भएको हो।
समितिको संयोजकमा कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार रहेका छन्। संसद्को नियमावली, २०७५ को नियम १८० बमोजिम गठन गरिएको समितिमा कांग्रेसबाट संयोजक परियारसहित र सुशीला थिङ तथा नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य समितिमा छन्।
त्यस्तै नेकपा ९माओवादी केन्द्र०बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की छन्। समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको छ।
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी भएको थियो ।
यसबारे व्यापक विरोध र आलोचनापछि छानबिन गर्न प्रतिनिधिसभाबाट सोमबार ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा भएको थियो । उक्त समितिको पहिलो बैठक आज बस्न लागेको हो।
