बेपत्ता नागरिकको खोजी र राहतमा गम्भीर हुन कम्युनिष्ट समाजवादी पार्टीको सरकारसँग आग्रह

काठमाडौं।कम्युनिष्ट समाजवादी पार्टी, नेपालले एक विज्ञप्ति जारी गरी नेपाल र चीनको सिमानामा अवस्थित रसुवामा रहेको खोलामा आएको बाढीका कारण २० जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको छ।

पार्टीका संयोजक हरिकृष्ण गजुरेल भाष्करद्वारा जारी विज्ञप्तिमा उल्लेख छ कि सयौंको संख्यामा सवारीसाधन र दुई देश जोड्ने मित्रेली पुलसमेत बाढीले बगाएको छ। साथै, खर्बौं रुपैयाँ बराबरको धनमालको क्षति भएको छ।

विज्ञप्तिमा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धांजली व्यक्त गरिएको छ। साथै, बेपत्ताहरूको अविलम्ब खोजी गर्न र पीडितहरूलाई तत्काल राहत र उचित व्यवस्थापनका निम्ति सरकारसमक्ष जोडदार आग्रह गरिएको छ।

पार्टीले भनेको छ कि वर्षेनी बाढी र पहिरोका कारण हजारौंको संख्यामा नागरिकले ज्यान गुमाउनुपरेको छ। यसरी घरबारविहीन हुनेदेखि खर्बौं रुपैयाँ बराबरको धनमालसमेत क्षति हुने गरेको छ। तर, यसप्रति राज्य र जिम्मेवार निकायहरू गम्भीर र जवाफदेही भएको पाइँदैन।

विज्ञप्तिमा उल्लेख छ कि सरकार र जिम्मेवार निकाय गम्भीर र जवाफदेही भूमिका निर्वाह गरेको देखिँदैन। र उल्टै सरकार र जिम्मेवार पक्षहरू रमिते बन्ने बाहेक खासै भूमिका निर्वाह गरेको देखिएकाे छैन। 

त्यसैले आगामी दिनमा सरकारलाई जवाफदेही र गम्भीर बन्न आग्रह गर्दै यस्ता घटनाहरूलाई न्यूनीकरण गर्ने र जनधनको क्षति हुन नदिने वातावरण तयार गर्न सरकारसमक्ष जोडदार अपिल गरिएको छ।  

May be an image of blueprint and text