करोडौं रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ,हुण्डी कारोबारी खोज्दै प्रहरी
काठमाडौं। काठमाडौं उपत्यकामा विदेशी नागरिकको गतिविधिले फेरि एकपटक सुरक्षा निकायको ध्यान खिचेको छ। काठमाडौं महानगरपालिका–६ बौद्धको नयाँबस्तीबाट आइतबार राति पक्राउ परेका चिनियाँ नागरिक वाङ जियानको गतिविधिले शंका उब्जाएको छ। प्रहरीले छापा मार्दा बरामद गरेको १ करोड ४४ लाख रुपैयाँबारे स्रोत अस्पष्ट रहँदा अनुसन्धानको घेरा अझ कडा भएको छ।
प्रहरी वृत्त बौद्धका डीएसपी जयश्वर रिमालका अनुसार वाङले सो रकम बोधिचित्तको माला किन्न ल्याएको दाबी गरेका छन्। यो माला खरिदको सिजन हो भनेर उनले बताएका छन्, तर रकमको स्पष्ट स्रोत नखुलेपछि नियन्त्रणमा लिएको हो,डीएसपी रिमालले भने। चिनियाँ नागरिक वाङ डेढ महिना अघि मात्र भिजिट भिसामा नेपाल आएका थिए र अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार उनले बिजनेस भिसामा रूपान्तरण गर्ने प्रयास गरिरहेको समेत खुलेको छ।
प्रहरीको अनुमान अनुसार हुण्डी कारोबारमार्फत रकम भित्रिएको हुनसक्ने आशंका गरिएको छ। आर्थिक अपारदर्शिता र नियम विपरीतको सम्भावित कारोबारले सुरक्षा निकायलाई चिन्तित बनाएको छ। विशेष गरी तिब्बती बौद्ध धर्मसँग जोडिएका वस्तुहरूको कारोबार र त्यसमा संलग्न विदेशी नागरिकको गतिविधि निकै संवेदनशील मानिन्छ।
बोधिचित्त माला पछिल्लो समय चीनमा अत्यन्तै महँगो मूल्यमा बिक्री हुने गरेको जानकारहरू बताउँछन्। २०७० र ७१ सालतिर तिब्बती धर्मगुरु दलाई लामाले आफ्ना प्रवचनमा बोधिचित्तको महत्त्वबारे चर्चा गरेपछि यसको माग र मूल्य दुवै आकाशिएको हो। त्यसपछि नेपालको तिमाल क्षेत्रलगायत ठाउँमा हुने बोधिचित्त तस्करी र लुटपाटसम्बन्धी समाचारहरू बेलाबेला चर्चामा आउँछन्।
धार्मिक महत्त्व बोकेका यी दाना आजकल एक लाखदेखि दुई लाख रुपैयाँसम्म मूल्यमा बिक्री भइरहेको छ। विशेष गरी चीनका बौद्ध धर्मावलम्बीहरूमा यसको माग बढ्दो छ। यी दानाहरू मुख्यतः हिमाली क्षेत्रमा पाइन्छन् र त्यसको संकलन तथा कारोबारमा स्थानीयदेखि अन्तर्राष्ट्रिय गिरोहसम्म सक्रिय रहेको प्रहरीको भनाइ छ।
वाङको पक्राउले नेपालमा विदेशी नागरिकको रहस्यमय गतिविधिको नयाँ आयाम उजागर गरेको छ। विशेष गरी चिनियाँ नागरिकहरूको संख्या बढ्दो क्रममा छ र तिनीहरूका केही गतिविधिहरू नियमन र निगरानीको दायरा बाहिर रहँदा सुरक्षा चुनौती बनेको छ। राजधानीमा विदेशी मुद्रा र दुर्लभ वस्तुको कारोबार भइरहँदा नियमन र निगरानी पर्याप्त छ कि छैन भन्ने बहससमेत यस घटनाले चर्काएको छ।
जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद लिएर प्रहरीले थप जाँच गरिरहेको छ। नेपालको भौगोलिक स्थिति र नीतिगत कमजोरीका कारण अवैध आर्थिक गतिविधिका लागि आकर्षक गन्तव्य बनेको मानिन्छ। विशेष गरी छिमेकी देशहरूबाट आउने अवैध पैसा र दुर्लभ वस्तुको कारोबार नियन्त्रणमा चुनौती बन्दै गएकाे छ।
