कांग्रेस अनुशासन समितिको कारबाही विधान विपरीत,कारबाहीमा परेकालाई अन्याय हुन नदिने शेखर समूहको प्रतिबद्धता
काठमाडौं। नेपाली कांग्रेस शेखर कोइराला समूहले पार्टीको केन्द्रीय अनुशासन समितिले नेताहरूलाई गरेको कारबाही विधान विपरीत र एकतर्फी भएको ठहर गरेको छ। बिहीबार बसेको समूहको बैठकले सभापति शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह पनि गरेको छ।
कांग्रेस केन्द्रीय अनुशासन समितिले बुधबार लुम्बिनीका महामन्त्री विक्रम खनाललाई गत आमनिर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई सहयोग गरेको भन्दै पार्टीबाट निष्कासन गरेको थियो। शेखर समूहले उक्त कारबाही अमान्य भएको भन्दै आपत्ति जनाएको हो।
साथै शेखर समूहको बैठकले कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने प्रतिबद्धतासमेत जनाएको छ। बिहीबारको बैठकमा उपसभापति धनराज गुरुङले सभापति देउवा, उपसभापतिहरू र महामन्त्रीहरूबीच अहिले अनुशासन समितिको फाइल नचलाउने कुरा भएको बताएका थिए। तर हिजो अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले समितिमै छलफल नगरी अचानक विज्ञप्ति निकालेर कारबाही गरिएको बताए।
बैठकमा उपसभापति गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य संजय गौतम लगायत काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू सहभागी थिए।
