बैतडीमा जीप दुर्घटना, दुईजनाको मृत्यु, ६ जना घाइते
धनगढी। बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ को खिपाली मोडमा शनिबार बिहान ६ बजेतिर सुपप्र ०१००१ ज १३७२ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जीप चालक डिलासैनी गाउँपालिका–१ नगराउ बस्ने २४ वर्षीय सन्तोशबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले बताए। प्रहरीका अनुसार गम्भीर अवस्थामा उद्दार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्र पठाइएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते हुनेमा डिलासैनी गाउँपालिका–१ कै ४२ वर्षीय रामबहादुर राना, ५१ वर्षीय कमला धामी, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, २ वर्षीया एलिसा खत्री र २५ वर्षीय हेमन्त प्रसाद भट्ट रहेका छन्।
उनीहरुमध्ये गम्भीर अवस्थाका कमला धामी र राजेन्द्र खत्रीलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको डीएसपी जोराले बताए।जीप सडकबाट करीब ७० मिटर तल खसेको छ भने दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
