एमालेविनाको देश र म विनाको एमाले चाहनेको सपना पूरा हुँदैन: अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र आफूविनाको नेपालको परिकल्पना गर्ने प्रतिक्रियावादीहरूको षड्यन्त्र रहेको आरोप लगाएका छन्।

झापामा आइतबार आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘एमालेविनाको देश र केपी ओलीविनाको एमाले होस् भन्ने चाहना राख्नेहरूको सपना कहिल्यै पूरा हुँदैन।

उनले लामो समय एमालेमा रहेर महत्त्वपूर्ण जिम्मेवारी र अवसर लिएका केही स्वार्थी नेताहरूले विगतमा पार्टी फुटाउने र सिद्ध्याउने षड्यन्त्र गरेको आरोप लगाए। तर कार्यकर्ता र जनताले एमालेलाई जोगाएर पुनः राष्ट्रिय शक्तिको रूपमा स्थापित गरे,उनले भने। पार्टीभित्रको एकतालाई सुदृढ बनाएर सङ्कल्पका साथ अघि बढे कसैले पनि एमालेलाई पराजित गर्न नसक्ने उनको दाबी थियो।

उनले पार्टीभित्र र बाहिरका षड्यन्त्रहरू चिर्दै ढुक्क भएर पार्टीको सही नीति र नेतृत्वको पक्षमा उभिन कार्यकर्ताहरूलाई आग्रह गरे।एमाले साना स्वार्थ बोकेर हिँड्ने पार्टी होइन। यसले राष्ट्र निर्माणको महान् उद्देश्य बोकेको छ र राष्ट्रिय हितका लागि बलिदानबाट आएको हो,उनले भने।

ओलीले एमालेविरुद्ध जाल बुन्नेहरू कहिल्यै सफल नहुने बताउँदै माकुराको जालोले भैँसीलाई नसमात्ने उदाहरण दिए। उनले भ्रामक प्रचारको पछि नलाग्न आग्रह गरे।

आफू र एमालेले कहिल्यै भ्रष्टाचार नगरेको दाबी गर्दै उनले भने,केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन। हामी सहकारी ठगीको मुद्दा खेपेर हस्ताक्षर अभियान चलाउने रास्वपा जस्ता होइनौँ।

नेपाललाई एमालेले नसके अरू कसैले बनाउन नसक्ने जिकिर गर्दै उनले आफ्नो नेतृत्वमा फलामखानी, पेट्रोलियम उत्खनन र सुरुङमार्ग निर्माणजस्ता विकास र समृद्धिका कामहरू सुरु भएको र तिनको प्रतिफल देखिन थालेको बताए।

नेपालको अन्तर्राष्ट्रिय छवि अहिले देखिने र सुनिने अवस्थामा रहेको उल्लेख गर्दै उनले हालैको स्पेन भ्रमणको सफलतालाई विपक्षीहरूले ‘मान्छे छाडेर आयो’ भन्ने भ्रामक प्रचार गरेको बताए।