साफ यू-२० महिला च्याम्पियनसिप: नेपाल बङ्गलादेशसँग पराजित
काठमाडौं । नेपालले साफ यू-२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा बङ्गलादेशसँग अन्तिम समयमा समालिन नसक्दा पराजित भएको छ। दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले घरेलु टोली बङ्गलादेशलाई २-२ को बराबरीमा ल्याए पनि अन्तिम मिनेटमा गोल खाँदै ३-२ ले पराजित भएको हो।
पहिलो हाफमा बङ्गलादेशले २-० को अग्रता बनाएको थियो । सिना जहान शिखाले गोल गरिन् । डिफेन्डर गङ्गा रोकायाले गोल लाईनबाट बचाएको बललाई उनले गोल गरेकी हुन्।
यसपछि नेपालले बराबरी गोल फर्काउने मौका गुमायो । ३६ औँ मिनेटमा बङ्गलादेशले अग्रता दुगुना गर्यो । गोलकिपर सुजाता तामाङले बललाई राम्ररी समाउन नसक्दा सागोरिकाले गोल गरिन्।
दोस्रो हाफको सुरुवातमै दुवै टोली १०-१० खेलाडीमा सिमित भए । नेपालकी डिफेन्डर सिम्रन राई र सागोरिकाले एक अर्कामाथि मुक्का बर्साएपछि रेफ्रीले दुवैलाई रातो कार्ड देखाइन् ।
नेपालले त्यसको केही समयमा पेनाल्टी पाएर खेलमा फर्कने अवसर पायो । अनिशा राईले गोल गर्दै खेल २९१ को स्थितिमा ल्याइन् । त्यसपछि ५ मिनेट बाँकी रहँदा काउन्टर अट्याकमा नेपालले बराबरी गोल गर्यो । पुर्णिमा राईको क्रसमा मिना देउवाले गोल गर्दै नेपाललाई २-२ को स्थितिमा पुर्याइन् ।
तर बङ्गलादेशले इन्ज्युरी समयको आठौँ मिनेटमा विजयी गोल गर्यो। श्रीमति तृष्णारानी सरकारले गोल गर्दै घरेलु टोलीलाई जित दिलाइन् ।
डबल राउन्ड रोबिनमा हुने च्याम्पियनसिपमा चार राष्ट्रको सहभागिता रहेको छ । पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको नेपालले अब श्रीलङ्कासँग खेल्नेछ। बङ्गलादेशले श्रीलङ्कालाई ९-१ ले हराएको थियो।
