नेताहरुले जनतालाई ‘भिखारी’ जस्तै बनाए: सांसद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले नेताहरूले जनतालाई आशा देखाउने तर सत्तामा पुगेपछि बिर्सने प्रवृत्तिको आलोचना गरेका छन् । मङ्गलवार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान राजनीतिक नेतृत्व र सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे ।

एकजना उद्योगपति साँझ घर फर्कँदा गेटमा भिखारी देख्छन् र भित्रबाट केही ल्याइदिन्छु भन्छन्,भण्डारीले कथामार्फत् भने, ‘तर भित्र गएर परिवारसँग रमाउँदा भिखारीलाई बिर्सन्छन्। भोलिपल्ट बिहान भिखारी मृत भेटिन्छ। ऊ अभाव र परिस्थितिमा त बाँचिरहेकै थियो, तर मालिकले देखाएको आशा पूरा नहुँदा सहन नसकेर मर्‍यो ।

यो कथालाई जोड्दै उनले भने, ‘हाम्रा नेताहरूले सत्तामा गएर जनतालाई आशा देखाए, तर आफ्नो परिवार र समूहमा रमाउँदा जनता, देश र भूगोललाई बिर्से। अहिलेको अवस्था यही हो ।

भण्डारीले सत्ताका लागि दौडधुप गर्ने, पद र रवाफमा रमाउने, तर जनताका सामान्य काम गर्न नसक्ने नेताहरूप्रति आक्रोश पोखे। उनले भने, ‘सत्तामा जान तँछाडमछाड गर्ने, तर जनताका आधारभूत काम किन नगरेको? उनले आफ्नो पुस्ताले मुलुक बनाउन जेलनेल भोगेको स्मरण गर्दै अहिलेका नेताहरूले सही व्यक्ति, समय र स्थानमा जिम्मेवारी दिन नसकेको आरोप लगाए।

कांग्रेस९एमाले गठबन्धनप्रति पनि उनले सैद्धान्तिक असहमति राखे । ‘संसदीय व्यवस्थामा ठूलो र दोस्रो ठूलो दलले गठबन्धन बनाएर सरकार चलाउनु गलत हो। प्रतिपक्षको भूमिका सरकारकै बराबर हुन्छ, यहाँ गल्ती भयो,’ उनले भने।

पार्टीभित्रको गुटबन्दीप्रति कटाक्ष गर्दै उनले भने, ‘नेताहरूले हँसिया बनाए, गुटहरूलाई हँसिया बनाउन दिए, तर त्यसले घाँस काट्न सकेन । त्यसैले भैँसी(गाईहरू भोकै छन्, कराइरहेका छन्।

उनले सरकारले चाहेमा काम गर्न सकिने उदाहरण दिँदै भने, ‘रसुवामा हेलिकप्टरबाट तत्काल उद्धार गर्‍यौँ, जनता खुसी भए । तर नख्खुमा बाढी आउँदा ५९६ घण्टासम्म जनताले गुहार माग्दा उद्धार भएन । गर्न सकिन्छ भन्ने यो हो ।’

भण्डारीले सरकार अपारदर्शी र सुशासन दिन असफल भएको आरोप लगाए । उनले गठबन्धनका मुख्य मुद्दा—संविधान संशोधन र सुशासन—एक वर्ष बित्दा पनि अघि नबढेको बताए।

संसद्को अवस्थालाई व्यङ्ग्य गर्दै उनले भने, ‘दुई ठूला दलले सत्ता चलाउँछन्, प्रमुख प्रतिपक्षको भूमिका अन्योलमा छ । तेस्रो,चौथो र पाँचौँ दल आन्दोलनमा छन्। अन्ततः प्रेम सुवाल र अमरेशकुमार सिंहले मात्र प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छन्।