कोइराला निवासमा बालकृष्ण खाँणको पत्रकार सम्मेलन
विराटनगर। पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रुपमा चिनिएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण विराटनगरस्थित कोइराला निवासमा आएका छन् । उनी बुधबार बिहान यहाँ आएका हुन्।
कोइराला निवासमा खाँणको उपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ। सभापति देउवासँग चिढिएका खाँणले कोइराला निवासमै पत्रकार सम्मेलन समेत गरेका छन्। पत्रकार सम्मेलनमा उनले गुट फेरेको भने बताएनन्।
कृष्णप्रसाद कोइराला हुँदै बिपी र गिरिजा बसेको उक्त घरमा हाल डा। शेखर कोइराला बस्दै आएका छन्। कांग्रेसभित्र कोइरालाले इतरसमूहको नेतृत्व गरिरहेका छन्। सभापति देउवासँग टाढिएका खाँणले कोइराला निवास पुगेर आफू डाक्टर शेखर कोइरालाको क्याम्पमा आएको संकेत गरेका छन्।
पत्रकारहरुसँग उनले कोइराला निवास गुटको केन्द्र नभई साझा ‘पवित्र भूमि’ भएको दाबी गरे। उनले ‘पार्टी नेता शेखर कोइराला यहाँ बस्नुहुन्छ। तर यहाँ पहिले बीपी कोइराला, गिरीजाप्रसाद कोइराला, बुवा कृष्णप्रसाद कोइरालापनि बस्नुहुन्थ्यो।
यहाँ सबै कोइरालालाई सम्झनुपर्छ। उहाँहरुसँग भावनात्मक सम्बन्ध छ। उहाँहरु हाम्रो लागि महामानव हो। निवासलाई पार्टीको गुटको रुपमा हेर्न हुँदैन।
पार्टीको आगामी महाधिवेशनबारे नेता खाँणले पार्टी विधानअनुसार विशेष परिस्थितिमा एक वर्ष थपेर पाँच वर्षभित्र महाधिवेशन गर्न सकिने व्यवस्था रहेको बताए ।
उनले पार्टीभित्रको अनुशासनको कारबाही गर्नु र कारवाहीका विषयमा कुरा उठ्नु स्वभाविक भएको बताउँदै भने,कुनै पनि पार्टीको जिम्मेवार निकायले एक पक्षीय वा पक्षपातपूर्ण व्यवहार गर्नुहुदैन।
कांग्रेस मुलुकको ऐतिहासिक प्रजातान्त्रिक पार्टी हो। उनले कांग्रेस कमजोर हुँदा नेता र कार्यकर्तामात्र कमजोर नहुने बताउँदै भने, ‘पार्टी कमजोर हुँदा मुलुकको प्रजातान्त्रिक पद्धति नै कमजोर हुनेछ ।
