प्रतिनिधिसभामा सरकारले गुमायो दुई तिहाइ, राष्ट्रियसभामा अल्पमतमा
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै राष्ट्रियसभामा सरकार अल्पमतमा परेको छ।
योसँगै सरकारलाई राष्ट्रियसभाबाट विधेयकहरू पारित गराउन कठिन हुने देखिएको छ। राष्ट्रिय सभामा तीन सांसद भएको जसपा नेपाल निर्णायक भूमिकामा थियो।
जसपा नेपालले वर्तमान सरकारले सुशासनको प्रत्याभूति गराउन नसकेको भन्दै ११ कारण दिएर समर्थन फिर्ता लिएको जनाएको छ । जसपा नेपालको बुधबार बसेको संसदीय दलको बैठकले सरकार भ्रष्टाचार, अनियमितता, दण्डहीनता, कमिसनतन्त्रमा लिप्त रहेको ठहर गर्दै सरकारलाई समर्थन गरिरहन नसक्ने बताएको छ ।
यसअघि ओली सरकारले ल्याएको भूमिसहितका ६ अध्यादेशमा पनि जसपाले असहमति जनाएको थियो । जसपाको विरोधपछि सरकारले भूमि अध्यादेश फिर्ता लिई विधेयकका रूपमा पुनः प्रस्तुत गरेको थियो । तर भूमि विधेयकमै पनि जसपाको असन्तुष्टि कायमै थियो ।
अब जसपाको समर्थन फिर्तापछि ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारको बहुमत घटेको छ । कांग्रेस, एमाले र लोसपाका गरी २८ सांसद मात्रै छन्, जबकि बहुमतका लागि ३० सांसद आवश्यक पर्छ ।
गत वर्ष ३१ असारमा ओली प्रधानमन्त्री नियुक्त हुँदा कांग्रेस, एमालेसहित सात दलका १८८ सांसदको समर्थन थियो, जुन प्रतिनिधि सभाको दुई तिहाइ थियो । तर, अहिले पाँच सांसद रहेको जसपा नेपाल र चार सांसद भएको नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएसँगै त्यो दुई तिहाइ पनि गुमेको छ ।
