शिक्षाको पहुँच देशका कुना काप्चासम्म पुर्‍याउनुपर्ने चुनौती: सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षाको पहुँच देशका कुनाकाप्चासम्म पुर्‍याउनुपर्ने चुनौती रहेको बताएका छन्।

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। वैज्ञानिक, प्राविधिक, व्यवसायिक शिक्षालाई उच्च प्राथमिकतामा नराख्ने हो भने विद्यार्थीले सीप सिकेर रोजगारी प्राप्त गर्न सम्भव नरहेको उनले बताए।

उनले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुका साथै सुविधा पनि विस्तार गर्नुपर्ने खाँचो रहेको बताए।​ उनले दुर्गम ठाउँमा भौतिक पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

शैक्षिक सचेतनामुलक कार्यक्रमका माध्यमबाट शिक्षा नवप्रवर्तन, सिकाई सामग्री, प्राविधिक तथा व्यवसायिक शिक्षामा पहुँच अभिवृद्धि, विद्यार्थीका लागि खेल सामग्री व्यवस्थापन, अनुशासन जस्ता विषयमा ध्यान दिनसके समग्र मुलुककै शिक्षामा परिवर्तन हुने विश्वास व्यक्त गरे।