गुप्तापछि भूमिमन्त्री अधिकारीको ३२ लाख घुस लिएको भनिएको अडियो बाहिरियो
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तापछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ३२ लाख घुस लिएको भनिएको अडियो आज सार्वजनिक भएको छ।
व्यक्तिको नाममा जग्गा दर्ता गर्ने चलखेलमा मन्त्री अधिकारीले ३२ लाख घुस रकम लिएको दावी अडिओमा गरिएको छ।
पोखराको जग्गाका लागि घुस रकम लिनेमा तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँगै मन्त्री अधिकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल, मन्त्री अधिकारीका छोरा मनोज अधिकारीको नाम समेत उच्चारण गरिएको सुनिन्छ।
जग्गा मिलाउन मन्त्री अधिकारीले छोरामार्फत ३२ लाख लिएको दाबी गरिएको अडियोमा सुनिन्छ। यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले ३५ लाख र सचिव पोखरेलले ५ लाख लिएको दावी गरिएको अडियोमा सुन्न सकिन्छ।
