आज पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज विभिन्न पाँच संसदीय समितिका बैठक बस्दैछ।संसद सचिवालयका अनुसार आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।

बिहान ८ बजे नै सुरु भएको महिला तथा सामाजिक मामिला समितिको बैठकमा घले समुदायले छुट्टै जातिमा सूचीकृतको लागि भनी समितिमा दिएको निवेदन सम्बन्धमा छलफल भइरहेको छ ।

बिहान ८ः३० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा भने काठमाडौँ चक्रपथ, कलङ्की–महाराजगन्ज खण्डको डिपिआरका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

त्यस्तै बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल हुनेछ ।

त्यसैगरी, ११ः३० बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति सुरक्षा र अपराध नियन्त्रणको अवस्था, सुरक्षाकर्मीको मनोबल बढाउन पछिल्लो समयमा भएका प्रयासहरुबारे छलफल हुने छ ।

मध्यान्ह १२ः १५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ मा विज्ञसँग छलफल हुने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।