एमालेको औपचारिक निर्णय: भण्डारीलाई राजनीतिक प्रवेशमा ब्रेक
रनसुर महतारा (रमेश)
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा सक्रिय हुनबाट रोक्ने एमालेको औपचारिक निर्णय भएको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी राजनीतिमा सक्रिय भूमिका खेल्ने संकेत दिएपछि बसेको सचिवालयकाे बैठकपछि बसेकाे केन्द्रीय कमिटीको बैठकले यो निर्णय गरेको हो।गत असार १४ गते आफ्ना दिवंगत श्रीमान् मदन भण्डारीको जन्मजयन्तीको अवसरमा राष्ट्रपतिको हैसियतमा पाउने सबै सेवा-सुविधा त्यागेर एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी भण्डारी आज न घर न घाटुको अवस्थामा पुगेकी छिन्।
नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी प्रवेश गराउन नहुने मत बढेको छ। यो निर्णयले भण्डारीको राजनीतिक महत्वाकांक्षालाई सिधै निशाना बनाएको छ। पोलिटब्यूरो र केन्द्रीय कमिटीबाट याे निर्णय भएसँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विधान महाधिवेशनमा प्रतिनिधि बन्न नपाउने देखिन्छ।
विशेष गरी भण्डारीले विभिन्न सञ्चारमाध्यममा दिएका अभिव्यक्तिले एमाले नेतृत्वलाई चिन्तामा पारेको छ। उनले आफू एमालेको साधारण सदस्य बन्न नभएर पार्टी नै हाँक्न आएको भन्दै एमाले अध्यक्षपदका लागि प्रतिस्पर्धा गर्ने इच्छा सार्वजनिक रूपमा व्यक्त गरेकी थिइन्। यो अभिव्यक्तिले सिंगो एमाले राजनीतिमा पहिरो नै गयो र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् मैदानमा उत्रिनुपर्ने बाध्यता आयो।
सरकार हाँकिरहेका र एमालेमा निर्विकल्पजस्ता बनिरहेका ओलीविरुद्ध भण्डारी उभिनु नै उनका अगाडि पहिलो चुनौतीको पहाड बन्यो। तर जसको साथ र हौसलाले हौसिएर भण्डारी एमाले हाँक्ने गरी राजनीतिमा पुनरागमन गरेकी थिइन्, उनीहरूले नै साथ छोड्दा उनी आजको यो दुर्दशामा पुगेकी हुन्।
भण्डारीको यो कदमले नेपालको राजनीतिमा भूतपूर्व संवैधानिक पदाधिकारीहरूको भूमिकाबारे गम्भीर प्रश्न खडा गरेको छ। संविधानको मर्म र भावनाअनुसार भूतपूर्व राष्ट्रपतिहरूले दलीय राजनीतिमा सक्रिय भूमिका खेल्नु उपयुक्त नहुने मत राख्दै एमालेले आफ्नो अडान स्पष्ट पारेको छ।
भण्डारीले आफ्नो राजनीतिक पुनरागमनलाई अपरिवर्तनीय भनेकी छिन् र २०२४ अप्रिल १३ मा आफूले पार्टी सदस्यता नवीकरण गरेको दाबी गरेकी छिन्। तर एमालेको हालको अडानले उनको यो दाबीलाई चुनौती दिएको छ। पार्टीले उनको सक्रिय राजनीतिक संलग्नताले संविधानको भावना र प्रावधानहरूसँग विरोधाभास गर्ने तर्क गर्दै उनलाई सक्रिय राजनीतिबाट टाढा राख्ने प्रयास गरिरहेको छ।
यो घटनाक्रमले एमाले भित्रको आन्तरिक राजनीतिमा नयाँ मोड ल्याएको छ। ओलीको नेतृत्वलाई चुनौती दिने भण्डारीको महत्वाकांक्षाले पार्टी भित्र नयाँ समीकरण सिर्जना गर्ने अपेक्षा गरिएको थियो, तर पार्टीको कडा अडानले त्यो सम्भावनालाई कमजोर बनाएको छ।
अब भण्डारीका अगाडि दुईवटा विकल्प छन्। या त आफ्नो राजनीतिक महत्वाकांक्षा त्यागेर भूतपूर्व राष्ट्रपतिको मर्यादित भूमिकामा फर्किनु वा फेरि नयाँ राजनीतिक विकल्प खोज्नु। तर दुवै विकल्प उनका लागि सजिलो देखिँदैनन्। पहिलो विकल्प उनको अहंकारमा चोट पुर्याउने छ भने दोस्रो विकल्पले उनलाई राजनीतिक एक्लोपनमा धकेल्ने देखिएकाे छ।
नेपाली राजनीतिमा शक्ति संघर्षको नयाँ अध्याय सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आन्तरिक तनाव बढ्दै गएको छ।
यो परिस्थितिले नेपाली राजनीतिमा नेतृत्वको संकट र संस्थागत कमजोरीलाई प्रकट गरेको छ। जनताले अपेक्षा गरेको स्थिर र प्रभावकारी नेतृत्वको सट्टा व्यक्तिगत स्वार्थ र पार्टीगत राजनीतिले प्राथमिकता पाइरहेको देखिन्छ।
राजनीतिक दलहरूले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने र नेताहरूबीच खुला संवादको वातावरण सिर्जना गर्नुपर्छ।
