मन्त्री घुस प्रकरणमा मुछिएको बेला भूमि विधेयक पास गर्न खोज्नु शंकास्पद: नेता कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भूमि विधेयक फास्ट ट्रयाकबाट पास गर्न गरिएको प्रस्तावप्रति आपत्ति जनाएका हुन्।

कोइरालाले बुधबार बिहानै सामाजिक सञ्जालमार्फत् भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री घुस प्रकरणमा मुछिएको बेला भूमि विधेयक पास गर्न खोज्नु शंकास्पद भएको भनद्यै आपत्ति जनाएका हुन्।

उनले भनेका छन्, ‘पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुईमध्ये एक मन्त्री (भूमीसुधार) अझै राजीनामा नदिई पदमै भइरहैको स्थितिमा भूमि विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले प्रसस्त शंका उब्जाएको छ।

यो अवस्थालाई मान्न नसकिने भन्दै उनले नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो नभएको उल्लेख गरेका छन्। नेता कोइरालाले भनेका छन्, ‘पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री,सांसद,कर्मचारी र विचौलियामाथि निष्पक्ष छानबिन गरौं, भूमि विधेयकमा समितिमा गहन छलफल गरौं।

कास्कीको पोखरा बाटुलेचौरमा रहेको ‘लिची बगान’ क्षेत्रको १३४ रोपनी जग्गा प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिइसकेका छन्। सोही प्रकरणमा ३३ लाख घुस बुझेको आरोप लागेका भूमिमन्त्री बलराम अधिकारी भने मौन बसेका छन्।