कांग्रेस-एमालेको आन्तरिक कलहले संकटमा सरकार,ओली-भण्डारी विवाद चुलिदै
रनसुर महतारा (रमेश)
काठमाडौं । नेपाली राजनीतिमा दुर्लभ देखिएको पहिलो र दोस्रो ठूला दलको गठबन्धनले एक वर्ष पूरा गरेको छ, तर आन्तरिक विवादले सरकारलाई अस्थिर बनाउने खतरा बढेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गत वर्ष गठन भएको कांग्रेस–एमाले गठबन्धन सरकार आज गम्भीर चुनौतीको सामना गरिरहेको छ।
विगतमा पहिलो दलले सरकार बनाउँदा दोस्रो प्रतिपक्षमा बस्ने र दोस्रोले साना दलसँग मिलेर सरकार बनाउँदा पहिलो विपक्षमा रहने परम्परा थियो। तर माओवादी केन्द्रले निरन्तर सत्ता सम्हालिरहँदा पहिलो र दोस्रो दल हेरेर बस्नुपर्ने अवस्थामा पुगेपछि यो असामान्य गठबन्धन बनेको थियो।
सत्ताको बागडोर सम्हालिरहेको एमालेभित्र प्रधानमन्त्री तथा अध्यक्ष ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीचको टकराव चुलिएको छ। आगामी महाधिवेशनमार्फत पार्टीको नेतृत्व लिने योजनासहित सक्रिय राजनीतिको घोषणा गरेकी भण्डारीलाई एमालेले पार्टी राजनीतिमा ुप्रतिबन्धु लगाएको छ।
मंगलबार मध्यरातमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टी विधान, संवैधानिक भावना, मूल्य–मान्यता, नैतिक मानक र विगतका नजिरका आधारमा भण्डारीको पुनः प्रवेशमा प्रतिबन्ध लगाएको हो। सो निर्णयसँगै उनको पार्टी सदस्यता स्वतः रद्द भएको छ।
तर यो निर्णयप्रति उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले असहमति जनाएका छन्। उनीहरूले बैठकमै नोट अफ डिसेन्टु लेख्ने घोषणा समेत गरेका छन्। एमालेको पछिल्लो निर्णयले आन्तरिक बहस र शक्ति संघर्ष थप चर्काउन सक्ने नेताहरूको बुझाइ छ।
अर्कोतर्फ ओलीले ७० वर्षे उमेरहद र दुई कार्यकालको सीमा हटाएर आफू तेस्रो कार्यकालका लागि अध्यक्ष बन्ने बाटो खुला गरेका छन्। उनले विधान अधिवेशनबाट यसलाई अनुमोदन गराउने रणनीति बनाएका छन्।
पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको औपचारिक राजनीतिमा सहभागी नहुन पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक भएपछि उनकी छोरी उषाकिरण भण्डारीले सामाजिक सञ्जालमार्फत असन्तुष्टि प्रकट गरेकी छन्।
बुधबार फेसबुकमा लामो स्ट्याटस लेख्दै उषाकिरणले पार्टीको निर्णयप्रति असन्तुष्टि पोख्दै भनेकी छन्,तपाईंहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ। तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ र।
उनले पार्टीको निर्णय प्रक्रियामा तिगडम भएको दाबी गर्दै लेखेकी छन्,निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहिँ अच्चमित छैन। म खुसी छु कि यो खुला रूपमा बाहिर आयो।
कांग्रेसमा कोइराला गुटको सक्रियता
यता कांग्रेसमा डा.शेखर कोइरालाको गुट सक्रिय छ। माओवादी अध्यक्ष प्रचण्डदेखि भण्डारीसम्मसँग भेटघाट गरी उनले नयाँ समीकरणको खोजी थालेका छन्। यसले फेरि सरकार परिवर्तनको खेल शुरु हुने हो कि भन्ने चिन्ता बढेको छ।
गुटगत भेला र देश दौडाहामार्फत कोइराला पक्षले प्रभाव विस्तार गरिरहेको छ। पार्टी अनुशासन उल्लंघनको आरोपमा विभिन्न जिल्लाका नेताहरूमाथि कारबाही हुँदा कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ।
सत्तारुढ दलबीच बढ्यो दुरी
दुवै दल आन्तरिक कलहमा फस्दा सत्तारुढ दल कांग्रेस–एमालेको दुरी पनि बढ्दै गएको छ। निजामती सेवा विधेयक र भूमि सम्बन्धी विधेयकमा एमालेले प्रस्ताव गरेको संशोधनप्रति कांग्रेसभित्र असन्तुष्टि बढेको छ।
विशेष गरी निजामती विधेयकमा ुकुलिङ अफ पिरियडु हटाउने एमालेको प्रस्तावप्रति कांग्रेसले कडा आपत्ति जनाएको छ। त्यस्तै भूमि विधेयकलाई समितिमा नपठाई संसदबाटै पारित गर्नुपर्ने एमालेको अडानप्रति कांग्रेस संशकित छ।
निजामती र भूमि विधेयक जस्ता महत्त्वपूर्ण विधेयकहरूमा सत्तारुढ दलहरूबीच नै सहमति नहुँदा संसदको प्रभावकारिता पनि कमजोर बनेको छ। सत्तारुढ दलहरूबीच देखिएको असमझदारीले सरकारको निर्णय क्षमता कमजोर बनाएको छ भने कार्यक्षमता र गति पनि प्रभावित भएको छ।दुवै दलभित्रको आन्तरिक कलह र सत्तारुढ दलबीचको बढ्दो मतभेदले सरकारको स्थायित्वमा नै प्रश्न खडा गरेको छ।
