बाजुरामा बसमाथि बजारियो ठुलो ढुङ्गा, ओर्लिइसकेकाले जोगिए यात्रु
काठमाडौं। कर्णाली करिडोरअन्तर्गत बाजुराको जगन्नाथ गाउँपालिका-५ स्थित भुका खोलामा पहिरोसँगै खसेको ठूलो ढुङ्गाले बजारिँदा एक यात्रुवाहक बसमा क्षति पुगेको छ।
दिउँसो साढे दुई बजेतिर भएको उक्त घटनामा पहिरो खस्नुअघि नै सबै यात्रुहरू बसबाट ओर्लिइसकेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।
सुर्खेतबाट कालिकोट र बाजुरा हुँदै हुम्लातर्फ जाँदै गरेको मध्यपश्चिम यातायातको भे १ ख २८३१ नम्बरको बस भुका खोला क्षेत्रमा पुग्दा माथिबाट पहिरो खसिरहेको थियो।
सडकमा पहिरो आएपछि चालकले गाडी रोकेर बसमा रहेका सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर ओरालेका थिए। यात्रुहरू ओर्लिएलगत्तै पहाडबाट खसेको ठूलो ढुङ्गा बसको अघिल्लो भागमा बजारीँदा गाडीमा क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरेश बहादुर शाहीका अनुसार घटना हुनुअघि नै चालक र यात्रुहरू बाहिर निस्किएकाले कोही पनि घाइते भएका छैनन्।चालकले बेलैमा यात्रु ओरालेका कारण सम्भावित ठूलो दुर्घटना टरेको छ।उनले नागरिक न्युजसँग भने।
घटनालगत्तै स्थानीय प्रहरी चौकी र जिल्लाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको छ। उक्त क्षेत्रमा निरन्तर पहिरो खसिरहेका कारण कर्णाली करिडोरमा यातायात सेवा अवरुद्ध भएको छ।
पहिरो खस्ने क्रम रोकिएपछि सडक खुलाएर सवारी साधन सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
