बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या तीन, १६ जना घाइते
बाजुरा। जिल्लाको हिमाली गाउँपालिका–५ मा पर्ने कवाडी–क्युडी सडकको टुनीगडामा जीप दुर्घटना हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ।
जीप दुर्घटनामा परी घाइते भएकी सोही गाउँपालिका वडा नं ५ की ३५ वर्षीया जुनेली रोकायाको उद्धारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए। उनले दिएको जानकारी अनुसार सोही गाउँपालिकाको क्युडीबाट वडा नम्बर ५ को वडा कार्यालय कवाडी आउने जीप दुर्घटना भएको बताए।
जीपको क्षमताभन्दा बढी यात्रु सवार रहेको र सडक कच्ची भएका कारण अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरी निरीक्षक चौधरीले बताए। जीपमा सवार भएका १९ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। जीप दुर्घटनामा परी मृत्यु हुनेमा ७६ वर्षीय विजौरा रोकाया र ७५ वर्षीय बाँचकला रोकाया छन्।
दुर्घटनामा परेका १३ जनाको अवस्था गम्भीर रहेको छ भने तीन जनाको अवस्था सामान्य रहेको छ। उनीहरुको उद्धारका लागि गाउँपालिकाको एम्बुलेन्स र स्वास्थ्यकर्मी परिचालन गरिएको छ। घाइतेको उपचारका लागि उद्दार गर्न नेपाली सेनाको हेलिकप्टरको पहल भइरहेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए।
उनका अनुसार जिल्ला प्रशासन कार्यालयबाट जीप दुर्घटनामा परी गम्भीर घाइते भएकालाई सेनाको हेलिकप्टरमार्फत उद्धारका लागि गृह मन्त्रालयमा पत्र पठाइसकेको पाध्याले बताए। घाइतेको क्युडीको टुनीगडामा गाउँपालिकाका स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन्।
घाइतेहरु –
हिमाली गाउँपालिका- गौरी बुढा -चालककाे अवस्था गम्भिर,बाचलाल रोकाया अवस्था गम्भिर,धन सिंह रोकाया -अवस्था गम्भिर ,भदैरी रोकाया -अवस्था गम्भिर ,बाँचधन रोकाया -अवस्था गम्भिर, छते रोकाया -अवस्था मध्यम ,बिर बहादुर बुढा -अवस्था गम्भिर, अम्म रोकाया -अवस्था गम्भिर, भैजित बुढा-अवस्था गम्भिर,दशरथ बुढा -अवस्था गम्भिर, अष्कली बुढा-अवस्था गम्भिर, राज बहादुर बुढथापा-अवस्था गम्भिर, साजन रोकाया -अवस्था मध्यम ,रनसुर सुनार -अवस्था गम्भिर, दलबहादुर चदरा- अवस्था मध्यम , त्यस्तै हुम्ला ताजाकोट गाउँपालिका सुरेन्द्र शाहीकाे पनि अवस्था गम्भिर रहेकाे छ।
