चन्द्र भण्डारीले भने-युवा पलायन गराउन दलालसँग मिलेर सरकारले नयाँ कार्यक्रम ल्याउँदैन

काठमाडौं। नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले युवा पलायन होऊन् भनेर सरकारले नयाँ कार्यक्रम नल्याएको बताएका छन्।
प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै सांसद भण्डारीले यस्तो बताएका हुन्। सांसद भण्डारीले विश्वविद्यालयको व्यवस्थापन र शैक्षिक सुधार गर्न सरकार असफल भएको बताए।
उनले पछिल्लो समय विकसित भएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित पाठ्यक्रम बनाउन ढिला गर्न नहुने बताए। उनले विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने सक्षम जनशक्ति विकास हुने गरी विश्वविद्यालय सुधार्न आवश्यक रहेको बताए।
उनले जिम्मेवार र कर्तव्यहीन सरकारका कारण शिक्षा क्षेत्र ध्वस्त भएको उल्लेख गर्दै रुलिङ गर्न माग गरे।
भण्डारीले भने,सरकार छ, मन्त्रालय र विज्ञहरू छन्। त्रिभुवन विश्वविद्यालय सधैँ बन्द किन भइरहन्छ? किन सरकारले खोल्न सक्दैन?हाम्रा विद्यार्थी फार्मेसी, इन्जिनियरिङ पारामेडिकल लगायतका विषय पढ्न चाहन्छन्।
हामी त्यस्ता कार्यक्रम किन ल्याउन सक्दैनौं? सरकारले यसबारे किन काम गर्दैन ? यहाँ सबै युवा पलायन होऊन् भनेर दलालहरूसँग मिलेर कुनै पनि कार्यक्रम ल्याइँदैनन्।
उनले सबै प्रकारको पेसामा आधारित शिक्षा सार्वजनिक विश्वविद्यालयबाटै दिएर आर्थिक कमजोरीका कारण पढ्न नपाउन अवस्था अन्त्य गर्नुपर्ने बताए।
