‘सामाजिक सञ्जाल विधेयक आपत्तिजनक छ,जस्ताको त्यस्तै पारित हुन दिन्नौँ’

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ आपत्तिजनक रहेको बताएका छन्।

काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले संसद्‌मा सामाजिक सञ्जालसम्बन्धी विधेयक दर्ता गराएको तर यसलाई जस्ताको त्यस्तै पारित हुन नदिने बताए।

उनले सामाजिक सञ्जालसम्बन्धी विषय प्रधानमन्त्रीदेखि हुनेवाला प्रधानमन्त्रीसम्मका लागि महत्वपूर्ण रहेको बताए। उनले विधेयकमा रहेको विषयवस्तुहरु आधारभूत रुपमा नै गलत रहेको उल्लेख गरे।

विधेयकले अहिलेको पुस्ताको अधिकारलाई नियन्त्रण गर्ने उनको भनाइ छ। सामाजिक सञ्जालको सही प्रयोग गर्नेतर्फ लैजानुपर्नेमा डराएर नियन्त्रणमुखी विधेयक ल्याएको महशुस भएको उनले बताए।

उनले भने,प्रधानमन्त्रीदेखि हुनेवाला प्रधानमन्त्रीसम्मलाई यो विषय चाहिएको छ। त्यसको प्रमाण अहिले संसद्‌मा आएको विधेयक हो। संसद्‌मा आएको विधेयक आपत्तिजनक छ। त्यो विधेयक जस्ताको त्यस्तै पारित हुँदैन। हामी हुन दिन्नौँ।

महामन्त्री थापाले सामाजिक सञ्जालबाट कोही पनि टाढिन नसक्ने बताए। उनले सामाजिक सञ्जाल जीवनको एउटा भाग बनिसकेको उल्लेख गरे।