कपिलवस्तुमा बस र अटो ठोक्किँदा २ जनाको मृत्यु
काठमाडौं। कपिलवस्तुको शिवराज नगरपालिकामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। शिवराज नगरपालिका–१ स्थित उमरीमा दाङबाट पोखरा जाँदै गरेको ग १ ख ९० १३ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको लु १ ह ४१५४ नम्बरको ठोक्किँदा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रितेन्द्र सिंहले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका चार जनामध्ये दुईको मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बसले बाटो क्रस गर्ने क्रममा अटोलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका उमरीका ५० वर्षीय रितबहादुर सुनार र सोही पालिका वडा नम्बर ३ बलुवाकाकी १८ वर्षीया रविना रानाको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटटाले जनाएको छ।
दुवै जनाको उपचारका क्रममा सिटी अस्पतालमा भैरहवामा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका उमरीका पवित्रा सुनार तथा प्युठान घर भई बलुवा बस्ने १८ वर्षीय शक्ति भण्डारीको सिटी अस्पतालमा उपचार भइरहेको छ। बस र अटो चालक प्रहरी नियन्त्रणमा छ।
