सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन् । बिहीबार अपराह्न ५ बजेको प्रदेशको सभाको छैटौँ अधिवेशनको २० औँ बैठकमा शाहले विश्वासको मत पाएका हुन् ।

संविधानको धारा १८८ को उपधारा १ र २ व्यवस्था अनुरूप दोस्रो पटक मुख्यमन्त्री भएको ११ महिनापछि मुख्यमन्त्री शाहले विश्वासको मत लिएका हुन् । शाहले सरकारमा रहेको नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि पुन विश्वास मत लिएका हुन् ।

गत २० असारमा नागरिक उन्मुक्ति पार्टी ९नाउपा०ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। सुदूरपश्चिममा अहिले रहेको सांसदको सङ्ख्या ५३ मध्ये सरकार गठनका लागि २७ मत आवश्यक पर्छ । शाहले सदनबाट ३० जना सांसदको मत पाए ।

उनलाई कांग्रेसका १८, नेकपा एमालेका ११ जना सांसदले विश्वास मत दिए । नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरीले पनि पक्षमा मत दिए ।

आजको प्रदेश सभा बैठकमा जम्मा उपस्थिति सांसद सङ्ख्या ४५ थियो । जसमा नेकपा माओवादीका १०, नेकपा एकीकृत समाजवादी पाटी तीन, राप्रपा १ र स्वतन्त्र १ जना गरेर १५ सांसदले शाहको विपक्षमा मत दिए ।