यू-२० महिला एसियन कप छनोट: साउदीमाथि नेपालको कठिन जित

काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियामाथि १-० गोल अन्तरको जित निकालेको छ ।

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपालले विजयी गोल गर्न अन्तिमसम्म कुर्नुपर्‍यो । निर्धारित समय सकिनै लाग्दा ९०औँ मिनेटमा शुक्रिया मियाँले ट्याप इन गोल गर्दै नेपाललाई जित दिलाइन् । उनले मिना देउवाको पासमा गोल गरिन् -।

नेपालले ३७औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्ने सुनौलो अवसर पाएपनि मीना देउवाको प्रहार बारमा लागेको थियो । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको थियो। साउदी अरेबियाले भने उत्तर कोरियासँग १५-० को फराकिलो हार बेहोरेको थियो।

पहिलो खेलमा बराबरी खेलेपछि नेपाली टोली समूहविजेता बन्ने सम्भावनामा धक्का लागिसकेको छ । बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ। सो खेल आइतबार हुनेछ।प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने ३ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ।