हामीलाई सरकार चाहिएको छैन: अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

चितवन। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा जाने विषय आफूहरूको प्राथमिकतामा नरहेको बताएका छन्।

आइतबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले सरकारले गरेका कामको विरोध गर्दा माओवादीलाई सरकार चाहिएको जसरी अर्थ्याउन खोजिएको बताए।

साथै, अहिले नै सरकारमा जाने कुनै सोच नरहेको उनको भनाइ थियो। सरकार परिवर्तनका विषयमा सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले भने, ‘यो सरकारले राम्रो काम गरिरहेको छैन। त्यस विषयमा कुरा उठाउँदा सरकार चाहिएको जसरी बुझ्नु हुँदैन। हामीलाई सरकार चाहिएको छैन। त्यस विषयमा हामीले कुनै चासो राखेका छैनौँ।

माओवादी केन्द्रले भदौ तेस्रो साताबाट विगतमा स्थगन भएको अभियानलाई पुनस् सुरु गर्ने र त्यसपछि पुनस् केन्द्रीय समितिको बैठक बसेर नयाँ एजेन्डासहित अघि बढ्ने उनको भनाइ थियो ।

‘हाल सरकारभन्दा जनताका कुरा सुन्नतर्फ पार्टीलाई केन्द्रित गरिरहेका छौँ । जनताको गुनासो र ती गुनासा समाधानका लागि अभियान पुनस् सञ्चालन गर्न लागिएको हो’, प्रचण्डले भने ।

हालै सम्पन्न स्थायी समिति बैठकबाट पार्टी एकताबद्ध भएको भन्दै उनले बैठकले गरेका निर्णय कार्यान्वयनमा आउने पनि बताए ।

फरक प्रसंगमा उनले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेको र त्यहाँ द्रूतगतिमा काम अघि बढाउनुपर्ने आवश्यकता महसुस भएको उल्लेख गरे।