कुमारी बैङ्कको नाफामा उल्लेख्य वृद्धि
काठमाडौं । कुमारी बैङ्कले गत आर्थिक वर्ष २०८१/८२ मा आफ्नो नाफामा उल्लेख्य वृद्धि हासिल गरेको छ। अघिल्लो आर्थिक वर्षमा जम्मा ४६ लाख रुपैयाँ मात्रै नाफा कमाएको बैङ्कले गत वर्ष २ अर्ब ११ करोड ६४ लाख रुपैयाँको खुद नाफा कमाएको छ। बैङ्कको नाफा वृद्धिको प्रमुख कारण इम्पेयरमेन्ट चार्जमा आएको कमी रहेको छ।
अघिल्लो वर्ष ६ अर्ब ८४ करोड रुपैयाँ राखिएको इम्पेयरमेन्ट चार्जलाई गत वर्ष २ अर्ब ७९ करोडमा झारिएको छ। साथै, अघिल्लो वर्ष पाउन बाँकी ब्याज रकम २ अर्ब ४१ करोड रुपैयाँ गत वर्ष असुल भएको छ। खराब कर्जा असुली र इम्पेयरमेन्ट चार्ज घटाउँदा बैङ्कको नाफामा ठूलो वृद्धि भएको हो ।
राष्ट्र बैङ्कको निर्देशनअनुसार खराब कर्जा वर्गीकरण भएमा बैङ्कहरूले शतप्रतिशतसम्म कर्जा नोक्सानी व्यवस्था गर्नुपर्छ । तर, यस्तो कर्जा असुली भएपछि नोक्सानी व्यवस्थापनमा राखिएको रकमलाई नाफामा गणना गर्न सकिन्छ । कुमारी बैङ्कले पनि यही व्यवस्थालाई उपयोग गर्दै नाफा वृद्धि गरेको हो ।
बैङ्कले सञ्चालन आम्दानी, सञ्चालन नाफा र ब्याज आम्दानीमा समेत सुधार गरेको छ। अघिल्लो वर्ष १३ अर्ब ६३ करोड रुपैयाँको सञ्चालन आम्दानी गरेको बैङ्कले गत वर्ष १४ अर्ब ६३ करोड रुपैयाँ पुर्याएको छ। यस्तै, सञ्चालन मुनाफा ९७ करोडबाट बढेर ६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। ब्याज आम्दानीमा पनि बैङ्कले प्रगति गरेको छ । अघिल्लो वर्ष १० अर्ब ८० करोड रुपैयाँको ब्याज आम्दानी गरेको बैङ्कले गत वर्ष ११ अर्ब ५५ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्ष बैङ्कले निक्षेपकर्तालाई २० अर्ब ७३ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको छ भने ऋणीबाट ३२ अर्ब २९ करोड रुपैयाँ ब्याज असुल गरेको छ ।
कर भुक्तानी नाफाभन्दा बढी
बैङ्कको वासलातअनुसार गत वर्ष २ अर्ब ११ करोड खुद नाफा गरे पनि कर भने ३ अर्ब ६६ करोड रुपैयाँ तिरेको छ। यद्यपि, बैङ्कको वितरणयोग्य नाफा भने अझै ऋणात्मक रहेको छ। गत वर्षको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड रुपैयाँले ऋणात्मक छ, जुन अघिल्लो वर्ष ५ अर्ब ३६ करोडले ऋणात्मक थियो। यो अवस्थाले सेयरधनीले गत वर्ष पनि लाभांश नपाउने देखिएको छ।
बैङ्कले अपरिष्कृत वित्तीय विवरणमा आफ्नो वासलातमा सुधार भएको दाबी गरेको छ। वितरणयोग्य नाफा ऋणात्मक रहेकाले सेयरधनीहरू लाभांशबाट वञ्चित हुने अवस्था कायमै छ। कुमारी बैङ्कले आगामी दिनमा कर्जा असुली र वित्तीय व्यवस्थापनमा थप सुधार गरेर लगानीकर्ताको विश्वास जित्ने प्रयास जारी राख्ने अपेक्षा गरिएको छ।
