धार्मिक पर्यटनको गन्तव्य बन्दै भूस्वर्ग मानिने बाजुराको बडिमालिका
बाजुरा। भूस्वर्गको रूपमा लिइने बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पर्यटक तथा श्रद्धालु भक्तजनका लागि उत्कृष्ट गन्तव्य बन्न थालेको छ ।
भगवान् शिव पृथ्वी भ्रमणमा रहँदा यो क्षेत्रमा सतीदेवीको बाँया हातको कुम पतन हुनगई सोही बाँया हातको कुमबाट माता बडिमालिकाको उपस्थिति भएको किंवदन्ती छ। यहाँ भगवान् शिवले लामो समय बसोबास गरेका धार्मिक विश्वास रहिआएको बडिमालिकाका पुजारी भानुभक्त पाध्यायले जानकारी दिए।
हराभरा पाटन, दुर्लभ वन्यजन्तु र पौराणिक किंवदन्तीले भरिपूर्ण यो पवित्र स्थलमा पछिल्ला केही वर्षयता स्वदेशी तथा विदेशी धार्मिक पर्यटकको रोजाइमा पर्ने गरेको छ।
प्राकृतिक दृश्य,धार्मिक आस्था र सांस्कृतिक परम्पराको अद्वितीय रूपले यो क्षेत्र पर्यटक र भक्तजन दुवैका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको स्थानीय बताउँछन्। नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका अनुपम उपहार हुन्।
यहाँका सौन्दर्य भनेकै विशाल फाँटहरू हुन्। बाह्रै महिना चिसो र कुहिरो लाग्ने भएकाले यहाँको प्राकृतिक सौन्दर्यता नियाल्दा जोकोही आकर्षित र मोहित हुन्छन्। समुद्री सतहबाट चार हजार २१९ मिटर उचाइमा रहेको यो क्षेत्रका मनमोहक त्रिवेणी क्षेत्र, २२ पाटन, ती फाँटमाथि फुलेका रङ्गिचङ्गी फूल, विष्णुपानी, धर्मद्वार प्रसिद्धस्थल हुन्।
खेतीबेती क्षेत्रमा परापूर्वकालमा भगवती र महिसासुरको युद्धका क्रममा रोपिँदै गरेको धान यथास्थितिमा रहेको स्थानीयको भनाइ छ। यहाँ डाँफे, मुनाल, कस्तुरी, झालरलगायत दुर्लभ चराचुरुङ्गी र वन्यजन्तु पाइन्छन्। सफा मौसमका बेला बडिमालिकाबाट उत्तरतर्फका अपूर्व हिमश्रृङ्खलासहित अपी, सैपाल हिमाल स्पष्ट देख्न सकिने पुजारी पाध्यायले उल्लेख गरे।
सवारीसाधन सञ्चालन हुने सडक पूर्वाधारको अभावमा घोडेटो बाटोमा पैदल हिँडेर यहाँसम्म पुग्न केही कठिनाइ हुने भए पनि पुगेपछि आध्यात्मिक शान्ति, मनोरम हरियाली पाटन, हिमश्रृङ्खला र प्राकृतिक सौन्दर्यका अगाडि यात्राका क्रममा हुने कठिनाइ गौण हुने उनले विश्वास व्यक्त गरे।
यो वर्ष लागेको मेलामा ४५ हजार बढी भक्तजनले बडिमालिका माताको पूजा तथा दर्शन गरेका छन्। नेपाल स्काउट, सुदूरपश्चिम प्रदेशका प्रमुख आयुक्त नरेन्द्र थापाले बडिमालिकामा यस वर्ष यही साउन १४ गतेदेखि सुरु भएको नवाह यज्ञ सहितको मेला साउन २३ गते मुख्य पूजा गरेर समापन भएको बताउँदै करिब ४५ हजारले दर्शन गरेका जानकारी दिए।
