धरहरा टपरी म:मलाई २ लाख जरिवाना,मानव स्वास्थ्यलाई हानि पुर्याउने वस्तु भेटिए
काठमाडौं। काठमाडौं महानगरपालिकाले सुन्धारास्थित ‘धरहरा टपरी म:म’ लाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ।
बिक्रीका लागि तयार पारिएको मस्ममा धातुको औँठी भेटिनुका साथै खाद्य स्वच्छताको मापदण्ड उल्लङ्घन गरेको पाइएपछि महानगरले कारबाही गरेको हो।
महानगरपालिकाको बजार अनुगमन टोलीले नियमित निरीक्षणका क्रममा उक्त रेस्टुरेन्टको खाद्य पदार्थको गुणस्तर जाँच गरेको थियो। सो क्रममा मस्ममा मानव स्वास्थ्यलाई हानि पुर्याउन सक्ने बाह्य वस्तु भेटिएपछि तत्काल कारबाही प्रक्रिया अघि बढाइएको हो।
महानगरको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेले उक्त व्यवसायले पटक-पटक महानगरको निर्देशन उल्लङ्घन गर्दै आएको बताए।
‘बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० (१) ख बमोजिम २ लाख जरिवाना तोकिएको हो,’ न्यौपानेले भने, ‘नियमित अनुगमनका क्रममा बिक्रीका लागि तयार मस्ममा धातुको औँठी भेटियो र समग्र खाद्य पदार्थको गुणस्तर पनि मापदण्डअनुरूप थिएन।
महानगरले व्यवसायीलाई ७ दिनभित्र तोकिएको जरिवाना रकम बैंकमा जम्मा गरी सोको जानकारीसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। साथै,आगामी दिनमा खाद्य स्वच्छता र गुणस्तरका सबै मापदण्ड पूर्ण रूपमा पालना गरेर मात्र व्यवसाय सञ्चालन गर्न सचेत गराइएको छ।
